नेपालको टी–२० विश्वकप खेल्ने मौका गुम्यो


नेपाल समाचारपत्र, काठमाडौं ।
अघोषित फाइनल खेलमा पराजित भएर नेपालले सन् २०२० मा अस्टे«लियामा हुने टी २० विश्वकप खेल्ने मौका गुमाएको छ ।

सिंगापुरमा भएको आईसीसी विश्वकप टी २० एसिया छनोटअन्तर्गत आईतबार आफ्नो अन्तिम खेल हारेपछि नेपालको विश्वकप पुग्ने अवसर गुमेको हो । आयोजक टोली सिंगापुरले नेपाललाई तीनै विधामा कमजोर तुल्याएर ८२ रनले पराजित ग¥यो ।

योसँगै सिंगापुरले पहिलो पटक टी२० विश्वकपको ग्लोबल छनोटमा स्थान पनि बनाएको छ । नेपालको लागि भने यो हारले विश्वकप खेल्ने सपना चकनाचुर पारेको छ । यसअघि सन् २०१४ को टी २० विश्वकपमा नेपालले खेल्न पाएको थियो । अंकतालिकामा सिंगापुर ७ अंकसहित शीर्ष स्थानमा रह्यो भने ४÷४ अंक लिएका कतार र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका हुन् ।

४ अंकको नेपाल र ५ अंकको सिंगापुर दुबै टोलीका लागि फाइनल सरहको यस खेल जित्नै पर्ने थियो । टस जितेको सिंगापुरले ब्याटिङ रोजेर नेपालविरुद्ध १ सय ९१ रनको विशाल योगफल तयार पा¥यो । जुन स्कोर टी २० अन्तरराष्ट्रियमा कुनै पनि टोलीले नेपालविरुद्ध बनाएको ठूलो स्कोर साबित भयो । यस अगाडि गत वर्ष नेदरल्यान्डस्ले बनाएको १ सय ७४ रन नेपालविरुद्ध बनेको ठूलो स्कोर थियो ।
खर्चिला स्पिनर

नेपाली बलरमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिँदा करण केसीले २ विकेट लिएका थिए । तर नेपालका दुई स्पिनर सन्दीप लामिछाने र वसन्त रेग्मीको बलिङ भने फिका बन्यो । दुबैले विकेट लिन सकेनन् र निकै खर्चिला बने । वसन्तले ४ ओभरमा ५४ रन दिएर टी २० करिअरमा अहिलेसम्मकै खराब बलिङ गरे । सन्दीपले भने ३ ओभरमा ३४ रन खर्चेका थिए । उनीहरु नचल्दा सिंगापुरका ब्याटसम्यान स्पिनरको ७ ओभरमा ८८ रन बटुले । जसमा ओपनर रोहन रंगराजनले ४९ रन, टिम डेविडले ७७ रन र मनप्रीत सिंहले ४२ रन जोडेका थिए ।

त्यसो त करणले अर्का ओपनर चन्द्रमोहनलाई खेलको दोस्रो ओभरमै आउट गरेर नेपाललाई राम्रो शुरुवात दिलाएका थिए । यसपछिको कथाले भने अर्कै मोड लियो । जुन नेपालले सोचेको भन्दा बेग्लै बन्न पुग्यो । डेविड र रोहनले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेर १०.४ ओभरमै ९९ रनमा पु¥याए । रोहनको विकेट अविनाशले लिएर यो साझेदारी तोडेका थिए ।

यो विकेट लिए पनि नेपालले खेलमा फर्कन सकेन । तेस्रो विकेटका लागि डेविड र मनप्रीतले ६६ रनको साझेदारी गरेका थिए । अविनाशले एकै ओभरमा जमिरहेका डेविड र नयाँ ब्याटसम्यान सुर्यवंशीलाई पवेलियन फर्काएका थिए । यसको बावजुद नेपालले सिंगापुरलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेन । मनप्रीतले १ सय ८२ रनसम्म पु¥याइदिँदा नेपाललाई कठिन स्थितिमा पु¥याइदिएका थिए । सिंगापुरका ब्याटसम्यानले नेपालविरुद्ध कूल ९ छक्का र १६ चौका प्रहार गर्न भ्याएका थिए ।

कमजोर ब्याटिङ
नेपाली टोलीको ब्याटिङ निकै कमजोर देखिएको थियो । कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ब्याटिङ शुरुवात गरेका थिए । पारस यसपटक टिक्न सकेनन् । उनी १२ रन बनाएर आउट हुँदा नेपालले २७ रन बनाएको थियो । ज्ञानेन्द्र र सरद भेषवाकरले ५४ रनसम्म पु¥याउँदा ज्ञानेन्द्र ३९ रन बनाए आउट भए । उनी मलेसियाविरुद्ध झै खतरनाक ब्याटिङ शैलीमा थिए । तर विजयकुमारले उनलाई क्लिन बोल्ड गरेपछि नेपालको आसामाथि तुषारापात गरिदिए । ज्ञानेन्द्रले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

५४ रनमा दोस्रो विकेट गुमाएको नेपालले बाँकी ८ विकेट मात्र ५५ रन बनाउँदा गुमाउन पुगेको थियो । जसमा विजयकुमारले नेपाललाई हार्न विवस बनाएका थिए । उनले नेपालका भरपर्दा ब्याटसम्यान रोहित कुमार पौडेल (५ रन) र विनोद भण्डारी (९ रन) लाई छिटै पवलेलियन फर्काइदिएका थिए । मध्यक्रमका ब्याटसम्यान दिपेन्द्रसिंह ऐरीले कोसिस गरेका थिए । तर उनी पनि दवावमा २३ रन बनाएर पवेलियन फर्केका थिए ।

ग्लोबल छनोट
ग्लोबल छनोट प्रतियोगिता यूएईमा अक्टोबरमा हुँदैछ । जसमा १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । टी २० अन्तर्राष्ट्रिय विश्व वरियतामा ११ देखि १६औं स्थानमा रहेका राष्ट्र क्रमशः स्कटल्यान्ड, जिम्बावे, नेदरल्यान्डस्, हङकङ, ओमान र आयरल्यान्ड ग्लोबल छनोटमा स्वतः छनोट भएका छन् ।

यूएई पनि आयोजकको नाताले स्वतः छनौटमा परेको छ । त्यस्तै अफ्रिकाबाट केन्या र नामिबिया, युरोपबाट जर्सी, पूर्वी एसिया प्यासिफिकबाट पपुआ न्युगिनी तथा एसियाबाट सिंगापुर छनोट भएका छन् । दुई राष्ट्र अमेरिकाबाट छनोट हुन बाँकी छ । सो प्रतियोगिताका शीर्ष ६ टोली अस्टे«लियामा हुने टी २० विश्वकपको प्रारम्भिक चरणका लागि छनोट हुनेछन् ।