नेपालले सिंगापुरलाई हराउनै पर्ने


काठमाडौं, (नेस) ।
नेपालले कुवेतलाई सहजै ७ विकेटले हराएपछि नेपालले विश्व टी २० क्रिकेट छनोटको अन्तिम चरणमा पुग्न आज सिंगापुरसँग खेल्दैछ ।
सिंगापुरमा जारी आईसीसी विश्व टी २० एशिया छनोटअन्तर्गत भएको खेलमा कुवेतले १ सय ४२ रनको लक्ष्य दिएकोमा नेपालले १५.५ ओभरमा प्राप्त गरेको हो । यो जितमा पारस खड्काले अर्धशतकीय इनिङ खेलेका थिए । यो नतिजापछि नेपालको २ जितसहित ४ अंक भएको छ । एक खेलमा कतारसँग नेपाल पराजित भएको थियो ।

ग्लोबल छनोट चरणमा पुग्न नेपालले सिंगापुरलाई हराउनै पर्छ । ५ अंक रहेको आयोजक टोलीले २ खेल जितेको छ भने कुवेतसँगको खेल वर्षाको कारण अनिर्णीत भएको थियो । जारी प्रतियोगितामा सिंगापुरको खेल निकै सानदार रहेको छ । ब्याटिङमा चन्द्रमोहन, रोहन रंगराजन र मनप्रीत सिंहलाई छिटै पवेलियन फर्काउनु पर्छ । यदि यी मध्ये एक मात्र जमे मात्र पनि नेपालको लागि खेल कठिन हुनसक्छ ।

त्यस्तै बलिङमा अमजद मेहबुब, विजयकुमार, अनन्त कृष्णसँग नेपाली ब्याटसम्यान सम्हालिएर खेल्नुपर्छ । नेपालका ब्याट्सम्यानमा अनुभवी सिनियर खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले राम्रो खेलेका छन् । दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध राम्रो खेलेका थिए । अन्य भने अहिलेसम्म जम्न कोशिस गरिरहेका छन् । सिंगापुरलाई हराउनको लागि हालको प्रदर्शनमा अझै सुधार गर्नु आवश्यक छ ।