खतरनाक बलर मालिंगा र मोहम्मद अमिरले छाडे क्रिकेट

२७ वर्षे मोहम्मद आमिरले टेष्टबाट लिए सन्यास

0
Shares

काठमाडौं । पाकिस्तानका मोहम्मद आमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । यसैगरी श्रीलंकाका अर्का क्रिकेटर लासिथ मालिंगाले पनि क्रिकेटबाट विदा भएका छन् । उनीहरु दुवै क्रिकेट करियरमा खतरनाक बलिङ भएको स्पष्ट देखिन्छ ।
आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट क्रिकेट खेलेका थिए । उनले ३६ औं टेष्ट म्याचमा पाकिस्तानको प्रतिनिधित्व गरे र ३७।४० को औसतमा ११९ विकेट लिए ।

२७ वर्षे आमिरले पाकिस्तान क्रिकेट बोर्डमार्फत् आफ्नो सन्यासको घोषणा गरे । त्यसपछि आउनले आफ्नो ट्वीटमार्फत पाकिस्तान क्रिकेट बोर्ड र पूर्व कप्तान इमरान खान, पूर्व क्रिकेटरहरु वसिम अकरम, शाहिद अफ्रिदी, वकार युनिस, मोहम्मद युसुफ र आफ्ना प्रशंसकहरुलाई धन्यवाद दिएका छन् ।

आफ्नो भिडियोमा आमिरले भनेका छन्, ‘टेष्ट क्रिकेट खेल्ने सपना पूरा एकदमै थोरै व्यक्तिको मात्र हुन्छ । टेष्ट क्रिकेटमा पाकिस्तानको प्रतिनिधित्व गर्न पाउनु मेरोलागि निकै सम्मानको कुरा थियो । मैले टेष्ट क्रिकेटमा राम्रो प्रदर्शन पनि गरेँ । १४ म्याचमा ५१ विकेट लिने सबैभन्दा युवा खेलाडी पनि बनें ।’

आमिरको रिटायरमेन्टप्रति पाकिस्तान क्रिकेट बोर्डका म्यानेजिङ डाइरेक्टर वसीम खानले मैदानमात्र नभइ ड्रेसिङ रुममा पनि आमिरको कमी महसुस हुने बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तान क्रिकेटमा हालका दिनहरुमा आमिर बायाँ हातका सबैभन्दा रोमाञ्चक र प्रतिभाशाली तीव्र बलरमध्ये एक हुन् । उनले प्रतिकूल परिस्थितिलाई पन्छाउँदै क्रिकेटमा पुनरागमन गरे । उनी एक राम्रो र बलियो व्यक्तित्वको रुपमा मैदानमा प्रवेश गरे । मैदानमा उनको प्रदर्शन र उनको व्यक्तित्वको कमी ड्रेसिङ रुममा पनि हुने छ ।’

लासिथ मालिंगाले पनि छाडे क्रिकेट

विचित्र बलिङ एक्सन र घुम्रिएको कपालका कारण पनि समाचारमा छाइरहने लासिथ मालिंगाले क्रिकेट करियरबाट सन्यास लिएका छन् । उनले बंगालदेशविरुद्ध शुक्रबार अन्तिम म्याच खेलेपछि क्रिकेटलाई अलबीदा भनेका हुन् ।
श्रीलंकाका लागि ३० टेष्ट, २२५ वनडे र ७३ टी–ट्वान्टी खेलिसकेका मालिङको करियर निकै शानदार रह्यो । उनले वनडेमा आफ्नो सटिक यार्करका कारण ३३५ विकेट लिए भने टेष्ट क्रिकेटमा १०१ विकेट झारे ।

सन् २००४ बाट क्रिकेट करियर सुरु गरेका मालिंगा १५ वर्षसम्म श्रीलंका टीमको खतरनाक बलरमा गनिँदै आएका छन् । मालिंगा क्रिकेटको इतिहासमा यस्ता एकमात्र क्रिकेटर हुन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा चार बलमा चार विकेट लिए । उनले यस्तो रेकर्ड सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा लिएका थिए ।

यतिमात्र नभई, वनडे क्रिकेटमा तीन पटक ह्याट्रिक गरेको रेकर्ड पनि उनकै नाममा छ । उनले आईसीसी वर्ल्डकप क्रिकेटमा दुई पटक ह्याट्रिक समेत गरे । यस्तो खेल प्रदर्शन गर्ने उनी एकमात्र क्रिकेटर सवित भइसकेका छन् ।