मिलाकले फेल्प्सको कीर्तिमान तोडे


लन्डन, (एजेन्सी) ।
हंगेरीका १९ वर्षीय पौडीबाज क्रिस्टोफ मिलाकले दक्षिण कोरियामा भइरहेको फिना विश्व पौडी प्रतियोगिताकोे २ सय मिटर बटरफ्लाई इभेन्टमा माइकल फेल्प्सको कीर्तिमान तोडेका छन् ।

मिलाकले सो दुरी १ मिनेट ५०.७३ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले अमेरिकाका दिग्गज पौडीबाज फेल्प्सले राखेको १० वर्षको कीर्तिमान ध्वस्त पारेका छन् । फेल्प्सले २००९ मा रोममा २ सय मिटर बटरफ्लाई इभेन्टमा १ मिनेट ५१.५१ सेकेण्डको समयसहित स्वर्ण जितेका थिए । अब उनी मिलाकसँग ०.७८ सेकेण्डले पछि परेका छन् ।

स्वर्ण जितेपछि मिलाकले बताए—यो कीर्तिमान बनाउन मेरो लागि गौरवको विषय हो । १३ वर्षसम्म म ब्याकस्ट्रोकर थिए । यसपछि मैले बटरफ्लाईमा ध्यान लगाए ।

फेल्प्सले २०१६ रियो ओलम्पिकपछि संन्यास लिएका थिए । उनी सदाबहार उत्कृष्ट ओलम्पियन हुन् । उनले ओलम्पिक पौडीमा कूल २८ पदक जितेका छन् । जसमा २३ स्वर्ण, ३ रजन र २ कांस्य सामेल छन् ।