१६ किलो सुन बरामद

खच्चडमा खाद्यान्न कि सुन ?


नेपाल समाचारपत्र, गोरखा ।
उत्तरी गोरखा सडक सञ्जालले जोडिएको छैन । खाद्यान्न ढुवानीको एक मात्र माध्यम खच्चड हो । स्थानीय व्यापारीसमेत रहेका धार्चे गाउँपालिका केरौँजाका धनकमल उत्तरी क्षेत्रका खच्चड व्यवसायी हुन् । उनी उत्तरी क्षेत्रका व्यापारीसँग सम्पर्क गर्ने खच्चडमार्फत आरुघाटलगायतको क्षेत्रबाट खाद्यान्न ढुवानी गर्थे ।
सधैँजसो तिब्बतका सिमानामा रहेका गाउँमा सामान पु¥याएर फर्केर बेपत्ता भएको बिहीबार २७ दिन पुग्यो । गत असार ११ गते माथिबाट धार्चेकै माछाखोला बजार झर्दै गरेका उनीमाथि एउटा समूहले आक्रमण गरेको खबर एकाएक बाहिर आयो ।

स्थानीयमार्फत नौ जना युवाले धनकमललाई आक्रमण गरी अपहरण गरेको खबर पनि बाहिरियो । त्यही बेला धनकमलले नै गाउँमा फोन गरेर आफूसँग भएको पैसा लुटिएको नाटक गर्दै फोन काटेका थिए । धनकमल हराएपछि उनका परिवारले माछाखोला प्रहरी चौकीमा उनलाई खोजिदिन भन्दै निवेदन दर्ता ग¥यो । त्यही बेलादेखि गोरखा प्रहरी उनीसहितको टोलीलाई खोज्न तीव्र लाग्यो । धनकमलको काण्डको खोजी गर्ने बेलामा गोरखाका तत्कालीन एसपी भोला रावलले घटनाको बेवास्ता गर्दै उल्टै कार्यालयमै रक्सी खाएर डीआईजीलाई गाली गरी गीतसमेत सुनाएका थिए ।

पछि गोरखामा नयाँ एसपी ओम अधिकारी आएपछि घटनाको अनुसन्धान थप अघि बढेको थियो । गाउँलेहरुले धनकमललाई मारेर बूढी गण्डकीमा फालिदिएको आशंकमा पनि गरेका थिए । ‘उसलाई त त्यही अपहरण गर्नेहरुले मारेर बूढी गण्डकीमा फालिदियो होला भनेर गाउँले तथा परिवारचिन्तित थिए’ –धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो । उहाँका अनुसार बूढीगण्डकीमा फालेको छ कि भन्दै गाउँलेले गण्डकीको किनारमा पनि खोजेका पनि थिए ।

यता परिवारको दबाबमा रहेको प्रहरीले धनकमल र उनलाई आक्रमण गरेको भनिएको टोली कोही पनि पत्ता नलागेपछि घटना रहस्यमय बनेको थियो । एसपी अधिकारीले प्रहरी निरीक्षकको कमाण्डमा उत्तरी गोरखामा सर्चका लागि टोली खटाउनुभएको थियो ।

त्यही टोलीले अपहरणमा परेका भनिएका धनकमललाई बुधबार पक्राउ गरेको थियो । उनलाई कहाँबाट कसरी पक्राउ गरिएको थियो खुलाइएको छैन । स्रोतका अनुसार उनलाई प्रहरीले बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो । उनै धनकमलले नै ओडारमा सुन राखेको ठाउँमा प्रहरीलाई पु¥याएका थिए । प्रहरी स्रोतले भन्यो– ‘जाँदा खच्चडमा खाद्यान्न लगेर गएको र फर्कँदा तिब्बतीहरुले दिएको सुन लिएर त्यही खच्चडमा लिएर माछाखोला फर्कँदै थिए ।’

प्रहरी स्रोतका अनुसार उनले त्यो सुन भारतीय व्यापारीको हातमा पु¥याउने जिम्मा लिएका थिए । प्रारम्भिक अनुसन्धानले धनकमलले यसभन्दा पहिले पनि सुन ओसारापोसार गर्ने गरेको खुलेको छ । खच्चड छोडेर रुमालमा सुन बेरेर जंगल छिरेका धनकमलले नै ओडारमा सुन लुकाएका थिए ।

उत्तरी गोरखालाई सुन तस्करको पछिल्लो रुट बनाएका छन् । गत वर्षको भदौमा पनि सिर्दीबासमा १० किलो सुन प्रहरीले बरामद गरेको थियो । उत्तरी गोरखामा तिब्बतसँग जोडिएका दुईवटा नाका छन् । एउटा रुइला नाका र अर्को ङुइला । रुइला सामागाउँमा पर्छ भने ङुइला छेकम्पारमा ।