टी–२० विश्वकप छनोटः सिंगापुरमा नेपालको पहिलो जित


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेर आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोटमा पुग्ने संभावनालाई जिवितै तुल्याएको छ ।

सिंगापुरमा जारी सो प्रतियोगिताको एसिया क्षेत्रअन्तर्गत नेपालले पहिलो खेलमा कतारसँग अप्रत्यासित रुपमा हार बेहोरेको थियो । बुधबार जित्नै पर्ने खेल थियो । जसमा नेपालले सानदार प्रदर्शन गर्दै मलेसियालाई हरायो पनि । यो जितसँगैं नेपालले २ अंक जोडेको छ । नेपालको जितमा ओपनर ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिए ।

वर्षाको कारण खेल २ घण्टापछि शुरु भएपछि निर्धारित ९ ओभर खेल्ने तय गरिएको थियो । मलेसियाले टस हारेर पहिलो ब्याटिङमा ९ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनायो । जुन लक्ष्य पाउन नेपालले निकै संघर्ष गर्नुपरेन । पछिल्ला खेलमा औसत प्रदर्शन गर्दै आएका ज्ञानेन्द्रले यो खेलमा निकै आक्रमक ब्याटिङ प्रस्तुत गरे । उनले २० बलमा अर्धसतक पुरा गरेर नयाँ कीर्तिमान समेत रचेपछि नेपालले १ ओभर बाँकी राख्दै लक्ष्य भेटाएको हो । नेपालका लागि विनोद भण्डारीले १३ रन र प्रदीप ऐरीले १२ रन जोडेका छन् ।

ज्ञानेन्द्रले विनोदको कीर्तिमान तोडे
गत साता मात्रै मलेसियामा सो टोलीविरुद्ध नेपालका विस्फोटक ब्याटसम्यान विनोद भण्डारीले २५ बलमा अर्धशतक प्रहार गर्ने नयाँ कीर्तिमान रचेका थिए । तर यो कीर्तिमान हप्ताभर मात्रै टिकियो । ज्ञानेन्द्रले २० बलमा अर्धशतक पुरा गर्दै विनोदको कीर्तिमानलाई ओझेलमा पारिदिएका छन् ।

ज्ञानेन्द्र टी२० क्रिकेट अन्तर्राष्ट्रियमा छिटो ५० रन पुरा गर्ने नेपाली ब्याटसम्यान बनेका छन् । म्यान अफ द म्याच घोषित उनले ५ चौका र ३ छक्का प्रहार गरे । साथै टी २० अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक समेत हो ।

टी२० क्रिकेट अन्तर्राष्ट्रियमा अर्धशतक बनाउनेमा ज्ञानेन्द्र चौथो नेपाली ब्याटसम्यान हुन् । यसअघि सुवास खकुरेलले सबैभन्दा पहिले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप टी २० मा अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए ।

सुवासको व्यक्तिगत उच्चतम रनको कीर्तिमान कप्तान पारस खड्काले गत असार २८ गते मलेसियाविरुद्ध ८६ रन जोडेर तोडिदिए । सो टी २० पहिलो खेलमा पारसले ३२ बलमा अर्धशतक पुरा गरेका थिए ।

तर सोही सिरिजको दोस्रो तथा अन्तिम खेलमा विनोदले २५ बलमा अर्धशतक पुरा गर्दै पारसको कीर्तिमान तोडेका थिए । विनोदको यो कीर्तिमान पनि अब ज्ञानेन्द्रले तोडिदिएका छन्।

ओपनिङमा पहिलो पटक ५० रन पुरा
नेपालले टी २० क्रिकेट अन्तर्राष्ट्रियमा ओपनिङ साझेदारीमा पहिलो पटक ५० रन पुरा गरेको छ । ज्ञानेन्द्र र प्रदीप ऐरीले पहिलो विकेटका लागि ५.२ ओभरमा ६६ रनको साझेदारी गरेका हुन् । यसअघि मंगलबार कतारविरुद्धको खेलमा ज्ञानेन्द्र र कप्तान पारसले पहिलो विकेटका लागि ४९ रन जोड्नु नै सो विकेटमा उच्चतम साझेदारी बनेको थियो ।

नेपालको टी २० अन्तर्राष्ट्रियमा ठूलो साझेदारी भने चौथो विकेटका लागि भएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकप क्रिकेटमा पारस र शरद भेषवाकरले सो विकेटका लागि बंगलादेशविरुद्ध ८५ रनको साझेदारी गर्नु कुनै पनि विकेटमा अहिलेसम्मको उच्चतम साझेदारी हो ।

नेपालले शनिबार कुवेतसँग खेल्दै
नेपालले शनिबार तेस्रो खेलमा कुवेतसँग खेल्दैछ । कुवेतको अहिलेसम्म १ अंक रहेको छ । अंकतालिकामा नेपाल, मलेसिया र कतारको २÷२ अंक भएको छ । सिंगापुरको ३ अंक छ । कुवेत र कतार तथा मलेसिया र सिंगापुरले शुक्रबार खेल्दैछन् । जसमा कतार र सिंगापुर जितेमा शनिबार हुने खेलमा नेपाललाई निकै दवाव पनि हुनेछ ।