दोर्दी करिडोरमा भीषण बाढी

११ बेपत्ता, ४ को शव फेला, ७ जनाको उद्धार


नेपाल समाचारपत्र, लमजुङ  ।
दोर्दी करिडोरमा भीषण बाढीमा परेर ११ जना बेपत्ता भएका छन् भने ४ जनाको शव फेला परेको छ र ७ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
बाढीले बगाएकामध्ये ४ जनाको शव फेला परेको प्रनाउ रवीन्द्रमान गुरुङले बताउनुभयो ।

उहाँका अनुसार ती व्यक्तिको सनाखत हुन बाँकी छ । दोर्दी गाउँपालिका–६ को ठूलो ढुंगाभन्दा माथि उद्दार टोली जान नसकेको उहाँले बताउनु भयो । घाइते ७ जनालाई प्राथमिक उपचारपछि नेपाली सेनाको टोलीले थप उपचारका लागि जिल्ला सदरमुकाम लगिरहेको प्रनाउ गुरुङले बताउनु भयो । रात परेको र पानी पनि परिरहेका कारण अब थप खोजी तथा उद्दारको काम बिहीबार विहान मात्र हुने उहाँले बताउनुभयो ।

सो घटना २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी जलविद्युत आयोजनाको बाध स्थल रहेको स्थान दोर्दी गाउँपालिका–६ स्थित ढोडेनी क्षेत्रको माताछे बगरमा भएको हो । बेपत्ता हुने र घाइते हुने सबै सोही आयोजनाका कामदार हुन् । बाढी आउँदा उनीहरू दोर्र्दी खोला किनारमा काम गरिरहेको स्थानीयले बताएका छन् ।

माथिल्लो क्षेत्रबाट दोर्दीले बगाएर ल्याएको २ वटा शवमध्ये एउटा दोर्दी गाउपालिका–४, नौथर शेरा नजिकै र अर्को एक जनाको शव दोर्दी गाउँपालिका–६ किर्तिपुरबेंसीमा फेला परेको दोर्दी गाउपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

सोही स्थानमा रहेको ५४ मेघावाट क्षमताको सुपरदोर्दी हाइड्रोपावर कम्पनीको इन्टेक, लोडर, ट्याक्टर र जेनेरेटर बगाएको उक्त कम्पनीका अध्यक्ष इजन बरालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बाटो विग्रिएका र घटनास्थल टाढा भएकाले समयमा पुग्न नसकिएको र सुरक्षाकर्मीले उद्धार गरिरहेको बताउनुभयो ।