गैरनेपाली नागरिकता काण्ड: सर्जमिन मुचुल्का उठाइयो


झापा, (नेस) ।
आर्थिक चलखेल गरेर १६ जना गैरनेपालीलाई जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता वितरणमा संलग्नमाथिको सर्जमिन मुचुल्का गर्ने काम सकिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक महिना लगाएर झापामा गरेको सर्जमिन मुचुल्का तयारमा नागरिकता वितरणमा संलग्न कर्मचारी, वडाअध्यक्ष, दलाली, नक्कली बावु वनेर सनाखत गर्ने लगायतबाट मुचुल्का उठाइ केही दिन अघि ब्युरोले लिएर गएको हो । इन्सपेक्टर, सइ र हवल्दारसहित तीन जनालाई गृह मन्त्रालयबाट ब्युरोलाई पठाएको थियो ।

टोलीले पत्रका आधारमा छानविन गरी मुचुल्का तयार पारेका थिए । माथिबाट पठाएको पत्रका आधारमा सम्बन्धित क्षेत्रमा मुचुल्का उठाइएको जनाइएको छ । अनुसन्धानमा बाधा पुग्ने भन्दै थप जानकारी भने टोलीले दिन चाहेन । प्रारम्भिक रुपमा सम्लग्न देखिएकालाई मौखिक वयान लिइ लिखित गरेको जनाइएको छ ।

गैरनेपालीलाइ नागरिकता वितरण गरेको प्रमाणसहितको सूचना पाएपछि गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको नेतृत्वमा छानबिन समिति बनाएको थियो । टोली झापामै आएर छानबिन सुरु गरेकोे थियो । जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिएका १६ जना गैरनेपालीको सूची लिएर अनुसन्धान टोली झापा आएको थियो । टोलीले आवश्यक सम्पूर्ण कागजात लिएर गएको थियो ।

झापा जिल्ला अदालतमा प्रतिवेदन आइसकेपछि अदालतले दिएको आदेश अनुसार प्रहरी अघि बढने जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । गृहले सवैकाम गरेकोले यो विषयमा थप जानकारीमा नआएको उहाँको भनाइ छ ।