प्राकृतिक प्रकोप न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन हुने


नेपाल समाचारपत्र, काठमाडौं ।
बर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने र पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायहरुलाई जागरुक बनाउने उद्देश्यले राजधानीमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

स्मार्ट वास सोलुसन र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त आयोजना तथा खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोगमा राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजक समितिले शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र नेपालका प्रतिनिधिहरुको सहभागिता रहने सो सम्मेलनको समुद्घाटन माननीय,ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनबाट हुनेछ । सम्मेलनको व्यवसायिक सत्रमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि,वर्षातको पानी संकलनबाट जलाधार तथा परिस्थितिय चक्र(इकोसिस्टम) आकाशे पानी संकलन प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तीय सहयोग, पानीको अभाव,जलवायु परिवर्तन र अनुकूलनसंग २५ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।

सम्मेलनको अवधिमा बर्षाको पानी संकलन प्रविधिका बारेमा काम गरिरहेका संघ संस्थाहरुले आफ्ना काम र उपयोगी प्रविधिका बारेमा सहभागी र अवलोकनकर्ताहरुलाई जानकारी गराउन प्रदर्शनी पनि गर्ने बताएको छ ।
सम्मेलन आयोजनाको निमित्त स्मार्ट वास सोलुसनका अध्यक्ष ई. रामदीप साहको अध्यक्षतामा विभिन्न प्रतिनिधिहरु रहेको एक आयोजक समिति समिति गठन भएको छ । त्यस्तै सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको संकलन,छनौट र सम्पादन गर्न डा. गुणनीधि पौडेलको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति र स्मार्ट वाटर सोलुसनका अध्यक्ष ई. रामदीप साहको अध्यक्षतामा एक व्यवस्थापन समिति बनेको छ ।

आयोजक समिति तथा स्मार्ट वासका अध्यक्ष रामदीप साहले भन्नुभयो– ‘देशमा उपलब्ध पानीका स्रोतको हिसाबले नेपाललाई जलस्रोतको धनी मुलुक भनिए पनि नेपालका धेरै शहर, बजार र गाँउहरुमा खानेपानीको समस्या रहदै आएको छ ।’ अन्य मुलुकहरुको अनुभवलाई हेर्दा पनि प्रकृतिले सित्तैमा दिने आकाशे पानीलाई उपयोग गर्न नसकिदासम्म खानेपानीको अभाव दीर्घकालसम्म रहने देखिन्छ । उहाँले अहिले विश्वको जनसंख्याको करिब १ दशमलब ३ प्रतिशतले आकाशे पानी संकलनबाटै आफ्ना घरायसी आवश्यकता पूरा गरेको र विकासोन्मुख मुलुकमा ग्रामीण क्षेत्रका २ दशमलब ४ प्रतिशत जनसंख्याले यस्तो बर्षातको पानी संकलनबाट आफ्नो पानीको आवश्यकता पूर्ति गरिरहेको दावी गर्नुभयो ।

नेपालको ८८ प्रतिशत जनसंख्याबीच पाइप प्रणालीबाट खानेपानीको सुविधा पुगेको भए पनि जलवायु परिवर्तनका कारणले बर्षाको प्रवृत्तिमा हुन गएको परिवर्तन र मुहान संरक्षणमा भएको वेवास्ताका कारण खहरे प्रकृतिका खोला र नदीको पानीमा आधारित खानेपानी प्रणालीबाट हिउँदमा नियमित पानी आपूर्ति हुन सकेको छैन् । हिमालबाट उत्पति भएर बाहै्र महिना निरन्तर बग्ने नदीहरुबाट सबै पहाडी भूभागमा खानेपानी पुर्याउन आर्थिक रुपले संभव छैन् । यी नदीहरु पहाड र तराई भेगका केही स्थानहरुलाई शोभा मात्र सिद्ध भएका छन् ।
कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रमाकान्त दवाडीले विभागले खानेपानीका जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरु विकास गर्न लागेको बताउनुभयो । उहाँले जमिनको पानीको पुनःभरणमा पनि ध्यानुपर्ने अवस्था आइसकेको बताउदै यो सम्मेलनले ती विषयहरुलाई राम्रोसंग उठान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका डा.उद्धवराज खड्का,पूर्व सांसद विमल केडिया,स्मार्ट वासका निर्देशक ई.हरिप्रसाद शर्मा लगायतले बर्षातको पानी संकलन र व्यवस्थापनका विषयमा प्रकाश पार्नुभएको थियो ।

पृथ्वीको दुई तिहाई खण्ड पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन् । समुन्द्र र महासागरको पानी जसले पृथ्वीको पानीको ९७ दशमलब ५ प्रतिशत अंश ओगटेको छ । त्यो नुनिलो छ । बाँकी २ दशमलब ५ प्रतिशत पानीमात्र ताजा र स्वच्छ र पिउनको लागि सुरक्षित पानीको रुपमा रहेको छ । आयोजकहरुले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र त्यसउपर सहभागीहरुको छलफलबाट प्राप्त भएका निष्कर्षहरु नेपाल सरकारका सम्बन्धित निकाय, प्रादेशिक र स्थानीय सरकारहरुसमक्ष पनि पुर्याइने बताएका छन् ।