कीर्तिपुरका समाजसेवीलाई यशश्वी स्मृति प्रतिष्ठानको सम्मान


नेपाल समाचारपत्र, काठमाडौं
यशश्वी स्मृति प्रतिष्ठानले शनिबार कीर्तिपुरको सुलक्षण कीर्तिविहारमा साधारणसभाको आयोजना गर्दै सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान ग¥यो ।

समाजसेवी संस्था तथा व्यक्ति र शैक्षिक प्रतिस्पर्धामा सहभागी हुने विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सभाका सांसद राजेन्द्रकुमार केसीले सम्मानपत्र प्रदान गर्नुभयो । सांसद केसीले कार्यक्रममा सम्बोधन गर्दै प्रतिष्ठानले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्नुभयो ।

‘१० वर्षअघि दुर्घटनामा निधन भएका बालक यशश्वीको स्मृतिमा उनका माता–पिता चन्दा ठकुरी कार्की र सुरेन्द्रजंग कार्कीले प्रतिष्ठान नै खडा गरेर सामाजिक र शैक्षिक क्षेत्रमा जुन योगदान दिएका छन्, त्यसमा सबैको साथ–सहयोग आवश्यक छ’, सांसद केसीले भन्नुभयो– ‘प्रतिष्ठानको प्रेरक गतिविधिकै कारण मैले पनि आफ्नो तर्फबाट सहयोग गर्दै आएको छु, मेरो सहयोग भोलि पनि कायम रहनेछ ।’

क्षेत्रीय सांसद पुकार महर्जन र कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले पनि प्रतिष्ठानका कार्यको प्रशंसा गर्दै दिवंगत बालकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रकाशजंग कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानलाई सघाउने वरिष्ठ इन्जिनीयर गंगाबहादुर बस्नेतलाई प्रशंसापत्र तथा खादाले सम्मान गरिएको थियो । यसै गरी यशश्वी–न्युज हाजिरीजबाफका प्रायोजकहरु, छात्रवृत्ति प्रदायक, शुभचिन्तक तथा सहयोगी, प्राविधिक सहयोगीलगायतलाई पनि सम्मान गरिएको थियो ।

प्रतिष्ठानले विभिन्न संस्था तथा व्यक्तिबाट गत आर्थिक वर्ष २०७५–०७६ मा २ लाख ४० हजार रकम संकलन गरेको र १ लाख ६ हजार खर्चभएको विवरण साधारणसभामा प्रस्तुत ग¥यो । कार्यक्रममा सुलक्षण कीर्तिविहारका सञ्चालिका डा. अनोजा गुरुमा, कीर्तिपुर– ६ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा नागरिक समाजका अगुवा व्यक्तिहरुको उपस्थिति थियो ।