अव्यावहारिक नीतिका कारण लगानीकर्ता अन्यौलमा, पूँजी बजार नकारात्मक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नयाँ आर्थिक वर्षको शुरुको दिन दोहोरो अंकले बढेको पुँजी बजार दोस्रो दिन एकाएक घटेको छ । आर्थिक वर्षको दोस्रो दिन अर्थात साताको अन्तिम दिन विहिबार पुँजी बजारमा २.३७ अंकले घटेको छ ।

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी)ले साउन एक गतेदेखि लागु गरेको पूँजीगत लाभकर गणना नीतिले लगानीकर्ता अन्यौलमा परेका कारण पूँजी बजारमा गिरावट आएको हो । । सिडिएससीले पूँजीगत लाभकर गणना गर्दा लगानीकर्ता आफुले खरिद गरेको शेयर मूल्य बताउनुपर्ने अव्यवहारिक नियम बनाउदा लगानी अन्यौलमा परेको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताउनुभयो ।

उहाँले अनलाइन प्रविधिमा लगानीकर्ता ब्रोकरमा जानुनपर्ने बताउनभयो । समाचारपत्रसँग बोल्दै उहाँले काठमाडौँ मात्रै नेपाल हो भन्ने सरकारी मानसिकता पूँजी बजारमा लाद्न नहुने तर्क गर्नुभयो । बजेट भाषणपछि लगानीकर्ताहरु उत्साहित भएको र अहिले आएर सरकारले अव्यवहारिक नीति मार्फत ढुंगे युगतिर नै फर्काउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार आर्फैले बुझ्नुपर्ने कुरा झन् बुझ्न नचाएको जस्तो देखिएको छ, अव्यावहारिक नीतिले गर्दा पूँजी बजारमा फेरी ओरालो लाग्दैछ ।’

यद्यपी उहाँले अहिले पूँजी बजारमा आएको गिरावटका कारण लगानीकर्ता आत्तिहाल्नु भने नपर्ने बताउनुभएको छ । विहिबार बजार २.३७ अंकले घटेर १२७२.४९ अंकमा पुगी कारोबार रोकिएको छ । कारोबार सुरु भएको केही समयसम्म उकालो लागेपछि पछिल्लो समय घट्दै जाँदा अन्तिम समयमा बजार घटेको हो ।

विहिबार बजारमा १५८ कम्पनीको १२ लाख ५० हजार ७ सय ८ कित्ता शेयरको ४१ करोड १३ लाख रुपैयाँभन्दा बढि मूल्यमा कारोबार भएको छ । जसमा सबैभन्दा धेरै छिमेक लघुवित्तको संस्थापक शेयर ५ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन, फाइनान्स र माइक्रोफाइनान्सको शेयर बढ्दा बाँकी सूचक भने नकारात्मक देखिएको छ ।