नेपाल विश्वकप छनोटको समूह ‘बी’ मा

सोचे जस्तो सहज छैनः महर्जन


फिरोज राजोपाध्याय, काठमाडौं ।
कतारमा हुने फिफा विश्वकप २०२२ का लागि एशियातर्फ दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा परेको छ ।

बुधबार सार्वजनिक गरिएको ड्र अनुसार नेपालको समूहमा अस्टे«लिया, जोर्डन, चिनिया ताइपेइ र कुवेत रहेका हुन् । यसो हेर्दा यो सहज जस्तो पनि लाग्छ । नेपालले अस्टे«लियाबाहेक अन्य टोलीसँग खेलिसकेको छ । हालै फ्रेन्डली म्याचमा समेत नेपालले राम्रो नतिजा निकालेको थियो । नेपालको लागि पहिलो चरणको छनोट खेल्न भने आवश्यक भएन । एशियाका फुटबल टोलीको वरियतामा नेपाल शीर्ष ३४ मा परेको हुँदा पनि नेपाल सीधै दोस्रो चरणको छनोट खेल्ने भएको हो ।

पूर्व राष्ट्रिय फुटबलर बालगोपाल महर्जनले समूहमा सोचे जस्तो सहज भने नहुने बताउनुभयो । महर्जनले नेपाल समाचारपत्रलाई बताउनुभयो—टोली हेर्दा त्यसो देखिएको हो । सहज त पक्कै हुँदैन । कुवेत, अस्टे«लिया भनेको विश्वकप खेलिसकेका टोली हुन् । जोर्डनसँग हामीले पहिले नै विश्वकप छनोटमै प्रतिस्पर्धा गरेको थियो । तर त्यतिबेला जोर्डनले हामीलाई हरायो । यद्दपि हामीले दशरथ रंगशालामा भएको दोस्रो लेगमा राम्रो खेल्यौ ।

महर्जनले अन्यलाई भने मेहनत गरेमा हराउन सक्ने आस गर्नुभएको छ । महर्जनले बताउनुभयो— नेपाली टोलीले हालै चिनियाँ ताइपेइ र कुवेतसँग फ्रेन्डली म्याच खेल्यौ । जसको नतिजा राम्रै मानिएको थियो । तर विश्वकप छनोटमा स्तर अलि फरक हुनसक्छ । हामीले राम्रो तयारी गरिरहेका छौ । जोर्डन, चिनिया ताइपेइ र कुवेतलाई हराउनको लागि मेहनत गर्नुपर्छ । हराउन नसकिने त होइन, त्यसका लागि धेरै मेहनतको आवश्यक हुन्छ । साथै आन्मबलको पनि आवश्यक हुन्छ ।

नेपालले सेप्टेम्बरमा विश्वकपको दोस्रो चरणको खेल खेल्नेछ । नेपाली टोलीका लागि डेढ महिना मात्रै बाँकी छ । महर्जनले विश्वकप छनोटको लागि तयारी गर्न त्यही लेभलका टोलीसँग अभ्यास खेल खेल्नु पर्ने बताउनुभयो । यसको लागि पहल भइरहेको भन्दै उहाँले बताउनुभयो—पहिलेको फ्रेन्डली म्याचको आधारमा पक्कै खेल्नु हुँदैन । यसले हामीलाई घाटा नै गर्छ । उही लेभलको टिमसँग हामीले खेल्ने पहल गरिरहेका छौ । विश्वकपमा आउने टोलीको लेभल नै माथि हुन्छ त्यसैले उनीहरुलाई हराउनका लागि हामीले त्यही अनुसार लेभलको टिमसँग खेल्नु पर्छ । विचार गर्ने हो भने विश्वकपमा पुग्न नेपालको लागि मौका भने छ ।

दोस्रो चरण छनोटका खेलहरु होम र अवे गरी दुई लेगमा खेलिनेछ । सेप्टेम्बर ५ देखि अर्को वर्षको जुन ९ सम्म चल्नेछ । एशियातर्फ छनोटका लागि ४० टोलीलाई ५÷५ टोली गरी ८ समूहमा विभाजित गरिएको छ । जसमा ८ समूहका विजेता र उत्कृष्ट चार उपविजेता गरी १२ टोलीले विश्वकप छनोटको अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चरणबाट ४ उत्कृष्ट टोलीले कतारको टिकट काट्नेछन् भने पाँचौ स्थानमा रहेको टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नेछ ।

समूह यस प्रकारका छन्ः
समूह एः चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स, गुआम
समूह बीः नेपाल, अस्टे«लिया, जोर्डन, चिनियाँ ताइपेइ, कुवेत
समूह सीः इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया
समूह डीः साउदी अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर
समूह ईः कतार, ओमान, भारत, अफगानिस्तान, बंगलादेश
समूह एफः जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार, मंगोलिया
समूह जीः यूएई, भियतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया
समूह एचः दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान, श्रीलंका

नेपालको खेलतालिका र प्रदर्शन
कुवेतविरुद्ध (५ सेप्टेम्बर÷१९ नोभेम्बर)
कुवेतविरुद्ध नेपालले अहिलेसम्म ६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा ५ खेलमा हार र एकमा बराबरी खेलेको छ । एसियन गेम्सअन्तर्गत १९९० मा भएको खेलमा नेपाल कुवेतसँग ८–० ले हारेको नै सो प्रतिद्वन्द्वीविरुद्ध ठूलो हार हो । गत मार्चमा भएको दुई अन्तर्राष्ट्रिय मैत्री खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । जसमा पहिलो खेलमा गोलरहित बराबरी खेल्यो भने दोस्रो खेलमा १–० ले मात्रै हार बेहोरेको थियो ।

चिनिया ताइपेइविरुद्ध (१० सेप्टेम्बर-२६ मार्च २०२० )
चिनिया ताइपेइसँग नेपालले एउटै मात्र खेल खेलेको छ। हालै जुनमा खेलेको अन्तर्राष्ट्रिय मैत्री खेलमा नेपाल चिनिया ताइपेइसँग १–१ बराबरी खेलेको थियो ।
अस्टे«लियाविरुद्ध (१० अक्टोबर÷३१ मार्च २०२०)

नेपालले अहिलेसम्म अस्टे«लियासँग खेलेको छैन । अब आउने अक्टोबरमा खेल्ने खेल नै नेपालको लागि एसियाका बलियो टोलीसँग पहिलो खेल हुनेछ ।

जोर्डनविरुद्ध (१५ अक्टोबर-४ जुन २०२०)
जोर्डनसँग नेपालले दुई खेल खेलेको छ । जुन फिफा विश्वकप छनोट २०१४ को छनोट चरणमा प्रतिस्पर्धा भएको थियो । जोर्डनमा भएको पहिलो लेगमा नेपाल ९–० गोलअन्तरले हार्न पुग्यो । तर ५ दिनपछि नेपालमा खेलेको खेलमा नेपाल १–१ बराबरी खेल्न सफल भएको थियो । जुन गोल भरत खवासले गरेका थिए ।