कुङफुमा नेपाललाई ५ स्वर्ण


काठमाडौं, (नेस) ।
नेपालले दोश्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा ५ स्वर्ण र १ रजत पदक जितेको छ ।

बूढानीलकण्ठ उमा कुङफु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाए अनुसार सञ्जयराज पुटुवार र अयुब घिमिरेले दुई–दुई स्वर्ण जिते । सञ्जयले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा तथा अयुबले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा स्वर्ण हात पारेका हुन् । सियान तामाङले स्नेक थाउलोमा नेपाललाई स्वर्ण दिलाए । तीनै खेलाडीले मिलेर टिम थाउलोमा थप १ रजत पनि जिते ।

टोलीलाई बूढानीलकण्ठ नगरपालिका वार्ड नं. ५ का अध्यक्ष विजय तामाङ, बूढानीलकण्ठ उमा कुङफु क्लबका अध्यक्ष दिनेश श्रेष्ठ, क्लबका प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रतियोगिता जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको थियो ।