धनकुटामा जेसुम यात्रा


कला, साहित्य रंगमञ्चमार्फत स्थानीय संस्कृति, सम्पदा र मौलिक पहिचान प्रवद्र्धन गर्ने ध्येय बोकेको जेसुम यात्रा यसपटक धनकुटामा सम्पन्न भएको छ। सदरमुकाम धनकुटा बजारस्थित आठपहरिया किराँत समुदायको बस्तीमा कवि, चित्रकार र रंगकर्मीहरूले जेसुम यात्रा गरेका हुन्। काठमाडौं, इटहरी र धरानका स्रष्टाहरू शनिबार धनकुटा बजार पुगेका थिए।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं र वडाध्यक्ष जंगबहादुर आठपहरियाले रातो टीका लगाइदिएर स्वागत गरेपछि स्रष्टाहरूले बजारबाट आठपहरिया गाउँ र चुलीवनतिरको हाइकिङ थालेका थिए। उनीहरूको आठपहरियाहरूको रहनसहन, इतिहास, राणा शासनको पालामा समुदायमाथि भएको दमन जस्ता तथ्य खोतल्दै अक्षर र क्यानभासमा आठपहरिया समाजको चित्र उतारे। स्थानीय र आगन्तुक गरी ३ दर्जन स्रष्टाले चुली वन पुगेपछि आठपहरिया पुर्खा राम्ली र रिदिमा हाङसँगै मौलिक पोसाकसहितको आठपहरिया युवतीको मँर्ति, धार्मिक मन्दिर र भ्यु टावर अवलोकन गरेका थिए। संस्कृतिकर्मी सँर्य आठपहरियाले नेतृत्व गरेको टोलीमध्ये चित्रकारहरूले एकातिर तमोर नदी र अर्कोतिर आठपहरिया बस्ती देखिने वनको मध्यतिरै जक्सन जमाएर क्यानभास कोरेका थिए।

कवि अनिता लामा र सगरमाथा आरोही देउराली चाम्लिङको टोली भने आठपहरिया बस्तीमै झरेर मौलिक घर, खानपान, भेषभँषा अवलोकन गरे। सेलो थिएटरका रंगकर्मी शान्ति वाइबा, सोनाम लामा र सन्तोष तामाङले बाँसुरीको धुनले चित्रकार र कविलाई पाश्र्वसंगीतको अनुभँति दिलाए। चित्रकार एनबी गुरुङ, उमेशचन्द्र अधिकारी, डिराम पाल्पाली, नरबहादुर विके, विनोदकुमार गुप्ता, सुरेश देसार, आरपी याकामी, पुण्य तामाङ, डिल्लीकृष्ण आले, श्रीकृष्ण जोशी, धिरेन्द्र श्रेष्ठ, सुशील शाक्यलगायतको क्यानभासमा धनकुटा बजार र आठपहरिया बस्ती कोरेका थिए।

उनीहरूलाई साथ दिन नजिकैको कचिडे गाउँबाट साहित्यकार झमक घिमिरे पनि आइपुगेकी थिइन्। आफ्नो थातथलोमा काठमाडौंदेखि स्रष्टा आएकोमा झमकले खुसी जनाइन्। उनकै प्रमुख आतिथ्यमा कवि स्नेह सायमी, अनिता लामा, फँलमान वल, विना थिङ तामाङ, रमेश कँडेल, हेमन यात्री, सुदीप पाख्रिन, शीतल गिरी, केजी सुब्बा, मुकुन्द प्रयासलगायतले सिर्जना सुनाएका थिए। धनकुटा बजारलाई पृष्ठभँमिमा पारेर राखिएका चित्रकला प्रदर्शनी नियाल्नेको भीड लागेको थियो।