स्थानीय सरकारको बजेट: पनौतीमा बल्ल, अझै तीन तहमा छैन


मोतीराम तिमल्सिना, काभ्रे । आर्थिक वर्ष २०७६÷२०७६ का लागि चालु आर्थिक वर्षको असार १० भित्रै प्रस्तुत गर्नु पर्ने नीति तथा कार्यक्रम र बजेट जिल्लाका केहि स्थानीय तहले अझै प्रस्तुत गरेका छैनन ।

पनौती नगरपालिकाले असार २३ गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ भने पाँचखाल नगरपालिका, खानीखोला र तेमाल गाँउपालिकाले अझै बजेट प्रस्तुत गरेका छैनन ।

पाँचखाल नगरपालिकाको बजेट प्रस्तुत गर्ने टुङ्गो अझै छैन । नेपाल नगरपालिका संघका केन्द्रिय सदस्य समेत रहेका पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बजेट प्रस्तुत गर्ने तयारी नपुगेकाले मिति तोक्न नसकिएको बताए । तेमाल गाउँपालिकाले असार २७ गतेलाई परिषद् तोकेको छ । यस अघि गाउँकार्यपालिका सदस्यहरुको विवादले बजेट तयारी बैठक समेत बस्न सकेको थिएन । खानीखोला गाउँपालिकाको असार २६ गतेलाई परिषद् तोकिएको छ ।

धुलिखेल नगरपालिकाले आईतबार बजेट पारित गरेको छ । नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका अशोक ब्याञ्जुले संसदीय प्रकृया मार्फत असार १० गते परिषद् शुरु गरी असार २२ गते सम्पन्न गरेको बताउनु भयो । सभासद्हरुलाई शुन्य समय मार्फत जनसरोकारका विषय उठान गरी सभाको ध्यानाकर्षण गराउने अवसर समेत प्रदान गरिएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सहित विनियोजन विधेयक सर्वसम्वतले पास गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । रोशी गाउँपालिका र महाभारत गाउँपालिकाले पनि बजेट पारित गरिसकेका छन् ।

मण्डनदेउपुर, नमोबुद्ध, बनेपा नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँपालिकाले बजेट प्रकृयामा रहेको र केहि दिनमै पारीत गर्ने समयावधी राखेका छन् । चौरीदेउराली गाउँपालिकाले ढिला गरी बजेट प्रस्तुत गरेको थियो । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपप्रमुख गिता बञ्जाराले १ अरव २६ करोड १ लाख २६ हजार बजेट प्रस्तुत गर्नु भएको थियो ।

सभामा पनौती नगरपालिकामा कर दस्तुर लगाउने उठाउने सम्वन्धमा ब्यवस्था गर्न विधेयक ईश्वराज जगंमले प्रस्तुत गरेका थिए भने बजेट बाँडफाँड विधेयक सहकुलकुमार हुमागाईले प्रस्तुत गर्नु भएको थियो । कर्मचारी सम्वन्धी ब्यवस्था बुद्धसिंह थापा, बार्षिक तलबी प्रतिवेदन गुणनाथ सापकोटा, राजश्व परामर्श समितिको प्रतिवेदन केशव बञ्जारा, लेखापरिक्षण प्रतिवेदन मोहनबहादुर भण्डारी, अनुमोदन गराउनु पर्ने नगरकार्यपालिको निर्णयहरु किशोर थापा, फरफारक भएका योजनाहरुको समर्थन प्रस्ताव श्रीधर पाध्या कुँईकेल, न्यायिक समितिको प्रतिवेदन नीला अधिकारी, विपद ब्यवस्थापन प्रतिवेदन सुधिर सापकोटा, समग्र प्रतिवेदन रामचन्द्र नास्नानी तथा धन्यवाद प्रस्ताव पुरुषोतम अधिकारीले पेश गरेका थिए ।

नगर सभामा पुण्यमाता करिडोरलाई बैकल्पिक सडकका रुपमा राखिएको छ भने ढल निकासा, अरुण मार्ग मोटरबाटो स्तरोन्नती कार्य, नपा चोक संखेल मोटरबाटो, त्रिबेणीघाट खोपासी बैकल्पिक सडक, भालेश्वर, चालिसे बजार मोटरबाटो, शहिदपार्क निर्माण, सेतीदेवी पिकनिक स्पोट, शखुदाहालटार खानेपानी योजना र लिलावती सिचाईलाई गौरवका योजनाको नाम दिईएको छ । बसपार्क जग्गा ब्यवस्थापन र सडक कालोपत्रे सहित गौरवका योजनालाई २० करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।