समयमा कार्यबिधि नआउँदा दुई करोड बजेट फ्रिज


गणेश घिमिरे, इलाम । कृषि ज्ञान केन्द्र इलाममा समयमा कार्यबिधी नआउँदा जिल्लामा कृषिको बिकासका लागि बिनीयोजित भएको करोडौं रुपैंयाँ बजेट फ्रिज भएको छ ।

प्रदेश सरकार अन्तर्गत कृषि निर्देशनालय विराटनगरले कृषि ज्ञान केन्द्रमा बजेट तथा कार्यक्रमहरू सञ्चालन गर्नका लागि समयमै निर्देशिका वा कार्यविधि निर्माण गरेर नपठाएको कारण जिल्लामा कृषिकालागि विनियोजित दुई करोड १८ लाख रुपैंयाँ फ्रिज भएको छ ।

चालु आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजन भएर प्रदेश सरकारबाट आएको विभिन्न शीर्षकको कृषि व्यवसायीकरण वा प्रवद्ध्र्रनका लागि विनियोजित दुई करोड १८ लाख रुपैंयाँ फ्रिज भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार अदुवा मिसन कार्यक्रमका लागि आएको ६० लाख, चैते धान बिषेश कार्यक्रमका लागि आएको २० लाख, खाद्यान्न बीउ आत्मनिर्भर कार्यक्रमका लागि आएको आठलाख नमुना कृषि फार्म स्थापनाका लागि आएको ३० लाख, सुन्तला जात बगैंचा ब्यबस्थापन कार्यक्रमका लागि आएको २५ लाख रुपैंयाँ फ्रिज भएको हो ।

त्यसैगरी अलैंची प्रशोधन केन्द्र स्थापना कार्यक्रमका लागि आएको २५ लाख, कफि खेती बिस्तार कार्यक्रमका लागि आएको २५ लाख, ब्यबसायिक फलफूल बगैंचा स्थापना कार्यक्रमका लागि आएको ४० लाख र कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि आएको २० लाख रुपैंयाँ बजेट कामै नभईकन फ्रिज भएको हो । यी कार्यक्रम सञ्चालन गर्न बजेट तथा कार्यक्रम सञ्चालन गर्ने कार्यबिधि प्रदेश निर्देशनालय विराटनगरबाट ढिलो आउँदा बजेट फ्रिज भएको हो ।

कार्यलयका बरिष्ठ कृषि बिकास अधिकृत रामसोगारथ साहका अनुसार प्रदेश सरकार अन्तर्गत कृषि निर्देशनालय विराटनगरले भर्खर १५÷२० दिन अघि मात्र कार्यबिधि पठाएको छ । १५÷२० दिन कार्यबिधि पठाएर १५÷२० दिनको अवधिमा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गर्नसक्ने अवस्था नभएका कारण जिल्लामा कृषि क्षेत्रका लागि आएको बजेट कामै नभई फ्रिज भएर जानु अत्यन्त दुखद रहेको बताउनुभयो ।

निजी, सहकारी, समूह र सरकारीलगायतले सञ्चालन गर्ने गरी इलामका लागि बिभिन्न शीर्षकमा बजेट बिनीयोजन भएर आएपनि कार्यबिधि अत्यन्तै ढिलो आउँदा यसवर्ष कार्यान्वयन हुन नसकेको वरिष्ठ कृषि विकास अधिकृत साहको भनाई छ ।

प्रदेश कृषि निर्देशनालयले २÷३ महिनाअघि नै कार्यविधि तयार गरेर मन्त्रालयमा टेबुल गरेको भएपनि मन्त्रिपरिषद्बाट ढिलो गरेर पास पास हुँदा बजेट फ्रिज भएको हो । कार्यविधी प्रदेश मन्त्रिपरिषद्बाट समयमै पास भएर कार्यालयमा नआएको कारण चालु आर्थिक वर्षमा विनियोजित कुल बजेटमध्ये दशवटा शीर्षकको दुई करोड १८ लाख रुपैयाँ फ्रिज भएको साहले बताउनुभयो ।

सार्वजनिक खरिद ऐनअन्तर्गत सूचना सार्वजनिक गर्ने समयावधि पनि कम्तीमा १ महिना चाहिन्छ, त्यसैले यस वर्ष तोकिएका कार्यक्रमहरू कुनै पनि नहुने भएकाले रकम फ्रिज भएर गएको कृषि ज्ञमन केन्द्र इलामले जनाएको छ ।