सडक ममर्त योजनामा डेढ करोड बढी घोटला


बीरबहादुर बम, मुगु ।
जिल्लाभित्र सञ्चालित एक सडक मर्मत योजनामा डेढ करोड बढी घोटाला भएको पाइएको छ। गमगढी ( नाग्म सडक खण्डअन्तर्गत छाँयानाथ रारा नगरपालिका ८ झ्यारी खोलादेखि गमगढी शून्य विन्दूसम्मको सडक मर्मतको ठेक्क प्रक्रियामा घोटाला भएको पाएको हो। सडक मर्मतका लागि आर्थिक वर्ष २०७४÷०७५ मा सुरु भएको योजनामा मुख्य ठेकेदारले सडक डिभिजन कार्यालय जुम्लामा तीन करोड २३ लाख ९ हजारमा सम्झौंता गरेको थियो।

काम गर्दा छाँयानाथ रारा नगरपालिका ४ निवासी हृदयसिंह नेपालीसँग एक करोड ६१ लाख ७६ हजार ३४६ रुपैयाँमा योजना सम्पन्न गर्ने गरी करार सम्झौता गरे पनि नेपालीले भुक्तानी नपाएको भन्दै जिल्ला अदालतमा मुद्दा हालेपछि डेढ करोड बढी घोटाला भएको तथ्य सार्वजनिक भएको थियो। हृदयसिंह नेपालीसँग गरिएको करार सम्झौतामा उल्लेख गरिएको रकम भन्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिएको दोब्बर छ । तर काम भने गुणस्तरहीन छ।

गएको वर्ष मर्मत गरिएको सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गरेको छ। सडकका नहर पुरिएका छन्। यतातिर काम गर्ने मजदुरले रकम पाएका छैनन भने सडकको अवस्था पनि राम्रो छैन।

कामको जिम्मा लिएको धोधुंगा कन्ट्रक्सन प्रालिविरुद्ध मुद्दा परेपछि यही असार दश गते जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजालसले हृदयसिंह नेपालीका पक्षमा फैसला गर्दै निर्माण कम्पनीका सञ्चालक कार्मा नोर्बेल तामाङलाई पाँच लाख जरिवाना तोकेको हो।

मुद्दाको फैसलापछि प्राप्त प्रमाणलाई हेर्दा कुल बजेटको आधा बजेट पनि खर्च नगरी गुणस्तरहीन काम भएको, नेपालको विकास कसरी हुँदोरहेछ भन्ने स्पष्ट हुन्छ त्यसैले यो विषयमा राष्ट्रिय बहस गर्न जरुरी छ जिल्ला अदालतले गरेको न्यायिक टिप्पणीमा भनिएको छ।

एक करोड ६१ लाख ७६ हजार ३४६ रुपैयाँ नेपालीसँग करार सम्झौता भएको र बाँकी एक करोड ६२ लाख ३२ हजार ६३५ रुपैयाँ कहाँ गयो भन्नेमा प्रश्न उठाई ३५ दिनभित्र विगो र जरिवाना असुल गरिने उल्लेख छ। तर निर्माण कम्पनिका ठेकेदार तामाङले पेटी ठेकेदार नेपालीलाई सबै रकम दिएको तर आफूले भर्पाई नगर्दा यो झमेला आएको दावी गरेका छन।

’नगदसहित खाद्यन्न समेत दिएको छु। मैले नेपालीलाई कुनै रकम बुझाउनुपर्ने छैन’ तामाङले भने। अब मैले जिल्ला अदालतमा हारे पनि पुनरावेदन जान्छु तामाङले बताएका छन।