कृष्णउदास खनाल, वीरगन्ज । सरकारले हरेक वर्षझैं यस वर्ष पनि असार १ देखि भदौ १५ सम्म साढे दुई महिनाका लागि खोला वा नदीबाट ढुङगा , गिटटी ,बालुवालगायतका नदीजन्य पदार्थको उत्खनन् र निकासीमा प्रतिबन्ध लगाएको छ।
पर्सामा भने स्थानीय तहका जनप्रतिनिधिले नै सरकारको निर्णयलाई लत्याएर अवैधरुपमा खोलाको दोहन गरेको घटना बाहिर आएको छ।
जिल्लाको पर्सागढी नगरपालिका १ मा पर्ने कर्जनीया कोइलाभार खोलाबाट अवैधरुपमा गिट्टी बालुवा उत्खनन् गरी चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले ९ वटा टयाक्टर र एउटा जेसीबी नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो।प्रहरीले ना ४ त ५७२५ , ना ३ त ४६९३ , ना ५ त ३५६८ , ना २ त ३८४४ , ना ३ त ४४७ , ना ६ त ४४१२ , ना २ त ८८५४ , ना ६ त २६९९ र ना ४ त ३४९७ नम्बरको टयाक्टरका साथै अनटेष्ट नम्बर प्लेट भएको एउटा जेसीबी नियन्त्रणमा लिएको हो।
प्रहरीले टयाक्टर र जेसीबीका चालकलाई पनि नियन्त्रणमा लिएको छ।रातिको समयमा खोलाबाट गिटटी बालुवाको चोरी निकासी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पेटर्वा सुगौली, इलाका प्रहरी कार्यालय एकटाँगा , प्रहरी चौकी मनवा र रंगपुरटाँडीको संयुक्त प्रहरी टोलीले ती १० वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरी निरीक्षक आशीष अधिकारीले जानकारी दिनुभयो ।
राति ९ बजेको समयमा खोलामा प्रहरीको टोली पुग्दा १५÷१६ वटा टयाक्टर र एउटा जेसीबीले गिटटी बालुवा उत्खनन् गरिरहेका थिए, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, ‘प्रहरी पुगे लगत्तै केही चालक टयाक्टर लिएर भाग्न सफल भए । ९ वटा टयाक्टर र एउटा जेसीबी मात्रै नियन्त्रणमा लिन सक्यौं।’
खोलाबाट नियन्त्रणमा लिइएका टयाक्टर र जेसीबी आइतबार डिभिजन वन कार्यालय पर्सामा बुझाइएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो । वडा नम्बर १ का वडाध्यक्ष तुलाराम महतोले आफूहरुको सहमतिमा खोलामा टयाक्टर र जेसीबी पठाइएको जिकिर गर्नुभयो ।
उहाँका अनुसार प्रदेश सांसद राजेश्व साह तेलीको संसदीय कोषको २० लाख रुपैयाँ बजेटबाट पर्सागढी नगरपालिका१ मा पर्ने कोइलाभारदेखि भटनीसम्मको सडकमा माटो पुरेर ग्राभेल हाल्ने काम चलिरहेको छ।
त्यहि योजनाका लागि उपभोक्ता समितिले गिट्टी बालुवा उत्खननका लागि शनिबार राति कर्जनीया कोइलाभार खोलामा टयाक्टर र जेसीबी पठाएको वडाध्यक्ष महतोले बताउनुभयो । सरकारले साढे २ महिनाका लागि गिट्टी बालुवाको उत्खननमा प्रतिबन्ध लगाएको भएपनि असार मसान्त सकिन लागिरहेका बेला योजनाको काम सक्नुपर्ने बाध्यता रहेकाले गाउँसमाजकै सहमतिमा खोलामा टयाक्टर र जेसीबी पठाइएको उहाँको बुझाइ छ ।











प्रतिक्रिया