चिल्ड्रेन पार्क निर्माण

0
Shares

गणेश घिमिरे, इलाम
इलामनगरपालिका १० गोदक स्थित माईभगवती बृद्धाश्रम परिसरमा बाल उद्यान (चिल्ड्रेन पार्क) को निर्माण गरीएको छ । महिला जागरण संघद्धारा सञ्चालित माईभगवती बृद्धाश्रम सञ्चालक समितिले उद्यानको निर्माण गरेको हो ।

१६लाख ५० हजार रुपैंयाँको लागतमा उद्यानको निर्माण भएको हो । सो उद्यानलाई पूर्णरुप दिनका लागि अझै समय लाग्ने भएको छ ।

निर्माणाधिन अवस्थामा रहेको उद्यानका लागि हाल बजेटको अभाव भएको सञ्चालक समितिले जनाउँदै आएको छ । माईखोलाको किनारमा रहेको बृद्धाश्रम परिसरमा नेपाल सरकारको स्वामित्वमा रहेको १४ रोपनि जग्गामध्ये ११ रोपनि जमिनमा उद्यान फैलिएको छ ।

सरकारी जग्गा त्यसै खेर गइरहेको अवस्थामा जग्गाको ब्यबस्थापन हुने तथा आश्रम सञ्चालनका आर्थिक श्रोत समेत जुट्ने उद्येश्यले उद्यानको निर्माण गरेको महिला जागरण संघ तथा बृद्धाश्रम सञ्चालक समिति अध्यक्ष बिष्णु दाहालले बताउनुभयो ।

उद्यान निर्माण गर्नकै लागि ५४ जनाबाट शेयर संकलन गरीएको थियो । जसबाट ६२ हजार पाँच सय रुपैंयाँ संकलन भएको थियो । त्यस्तै उद्यान निर्माण गर्न महिला तथा बालबालिका मन्त्रालयबाट २ लाख ८० हजार ७ सय रुपैंयाँ, इलामनगरपालिकाबाट ४ लाख ९० हजार ८ सय ५४ रुपैंयाँ र बृद्धाश्रमको अक्षय कोषबाट ६ लाख रुपैंयाँ लिएर उद्यान निर्माण गरीएको हो ।

उद्यानमा हाल बालबालिका खेल्ने तीन प्रकारका खेल सामाग्रीहरु राखिएको छ । बालबालिकालाई खेल्ने चिप्लेटी, पोखरी र पिङ रहेको छ । यस्तै पदमार्ग बिश्राम स्थल एवं शौचालयक सहितको पार्कभित्र बिभिन्न प्रजातिका फूलहरु रोपिएको छ । उद्यानको बिस्तार गर्दैै आगामी दिनमा बालबालिका खेल्नका लागि छ प्रकारका सामाग्रीहरु राखिने बताइएको छ । बालबालिकालाई मनोरञ्जन प्रदान गराउँदै अभिभावकले पनि नयाँ बातावरणमा रम्न सक्ने किसिमको उद्यान निर्माण भएको हो ।

अभिभावकले उद्यानमा बालबालिकालाई बिभिन्न खेलहरु खेलाए बापत निश्चित रकम तिर्नुपर्ने प्राबधान रहेको छ । जसबाट संकलित रकम बृद्धाश्रम सञ्चालनमा खर्च गरीने अध्यक्ष बिष्णु दाहालले बताउनुभयो । उद्यानबाट बार्षिक चारलाख रुपैंयाँ संकलन गर्ने सञ्चालक समितिले लक्ष्य लिएको छ । उद्यानलाई पूर्णता दिनका लागि अझै दशलाख रुपैंयाँ लाग्ने बताइएको छ ।