नसर्ने रोगका कारण मृत्यु दर बढ्दै गयो


भक्तपुर,(नेस) । सर्ने रोग भन्दा नसर्ने रोगका कारण धेरै मानिसको मृत्यु हुन थालेपछि यसको उपचारको प्रयास सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु दर बढ्दै गएको जानकारी दिईएको हो ।

यसलाई रोक्न सरकारले विभिन्न जिल्लाका स्वास्थ्यचौकीमा निःशुल्क रुपमा नसर्ने रोगको जाँच गर्न व्यवस्था सुरु गरेको छ ।स्वास्थ्य मन्त्रालयले नसर्ने रोग जाँच गर्न पेन प्याकेज लागू गरेको छ ।

यसका लागि भक्तपुरमा मात्रै १५० भन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिएर विशेष गरी मुटु तथा रक्तनलीका रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र दम, मधुमेह तथा क्यान्सरसम्बन्धी रोगको निःशुल्क जाँच गरी औषधी उपचारसमेत गर्न सुरु गरेको हो । साउन १ गतेदेखि यस अभियानलाई प्रभावकारी रुपमा लैजाने छ ।

गत वर्ष इलाम र कैलालीबाट पाइलट प्रेजेक्टका रुपमा सुरु भएको यो कार्यक्रम यसवर्ष प्रदेश ३ अन्तर्गत भक्तपुर र सिन्धुली लगायत बिभिन्न प्रदेशका विभिन्न जिल्लामा लागू भएको कार्यालयका प्रमुख पार्थमणि न्यौपानेले जानकारी दिनुभयो । नेपालमा अहिले सर्ने रोगभन्दा पनि नसर्ने रोगको जोखिम बढी रहेको र मृत्युदर समेत बढेको कारण सरकारले पेन प्याकेज नै ल्याएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

आफ्नो सवारी साधनको समय समयमा सर्भि्िसङ गरे जस्तै उनले आफ्नो शरीरको पनि बेलाबेलामा स्वास्थ्य चेकजाँच गरी स्वस्थ नागरिक बन्नुपर्नेमा जोड दिनुभयो । सन् २०१५÷०१६ को तथ्यांक अनुसार नेपालमा चार लाख ५ हजार ३ सय जना मानिसमध्ये ८५ प्रतिशतलाई नसर्ने रोग लागेको थियो भने १५ प्रतिशतलाई मात्रै सर्ने रोग लागेको मन्त्रालयको तथ्यांक छ । नसर्ने रोग लागेका मध्ये पनि ८३ प्रतिशत नसर्ने रोगका कारण ज्यान गुमाएका थिए भने १७ प्रतिशत मानिस सर्ने रोगको कारण मृत्यु भएको तथ्यांक छ ।

कार्यक्रममा नसर्ने रोगको खतरा र मेरो बर्षः म स्वस्थ मेरो देश स्वस्थ अभियानबारे कार्यालयका पोषणका फोकल पर्सन रामप्रसाल लम्साल र प्रज्वल अधिकारीले प्रस्तुति दिनुभएको थियो ।