ट्रक दुर्घटनामा शिक्षककोे मृत्युु, नौ घाइते


सल्यान ।
रुकुमबाट दाङतफै जाँदै गरेको ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहनुभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक दाङ तुलसीपुर उपमहानगरपालिकाका ताराप्रसाद खड्का र सोही ठाउँ निवासी २० वर्षीय सहचालक यज्ञबहादुर खड्का गम्भीर घाइते हुनुभएको छ । चालक र सहचालकको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको तुलसीपुरमा उपचार भइरहेको छ ।

ट्रक सडकदेखि ५० मिटर तल खसेकोे छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उद्धार गरेको थियो । अविरल वर्षाका कारण उद्धारकार्यमा कठिनाई भएको प्रहरीको भनाइ छ ।

फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभिुक्तलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–७ मैदु निवासी ४१ वर्षीय दिलबहादुर पुनलाई २० वर्षपछि आइतबार घरबाटै पक्राउ गरेको हो ।

विसं २०५६ जेठ २२ गते सोही ठाउँका लोकबहादुर यरीलाई हत्या गरी फरार भएका पुनलाई सर्वोच्च अदालतले १५ वर्षको कैद फैसला गरेको थियो । घटनापछि पुन फरार भएपछि प्रहरीले पक्राउ गर्नसकेको थिएन । पुन घरमा आएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यान र आरआइटी कर्णाली प्रदेश सुर्खेतको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पुनलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्यानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रासस