सरकारविरुद्ध नेविसंघले गर्‍यो विषाक्त तरकारीसहित देशभर प्रदर्शन


काठमाडौं ।
नेपाल विद्यार्थि संघ (नेविसंघ)ले सरकारविरुद्ध विषाक्त तरकारीसहित देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ । सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै (नेविसंघ)ले सोमवार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले काठमाडौँको शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेका थिए । तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । जसको नेतृत्व महामन्त्री काफ्लेले गरेका थिए ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महामन्त्री काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणासमेत गरेका थिए । जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो । यस्तै २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने, असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।