तयार भए नगर प्रहरी


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका दुई वटा नगरपालिकाले नगर प्रहरी तयार गरी कार्यक्षेत्र खटाएका छन् । गत चैत्र २४ गतेबाट सुरु भएको नगरप्रहरीको तालिम सकिएपछि सोमबारबाट औपचारिक रुपमा कार्यक्षेत्र खटाइएको हो ।

मुसीकोट नगरपालिका र आठबिसकोट नगरपालिकाकाले भर्ना गरेका नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुका लागि सञ्चालित तालिमको सोमबार औपचारिक रुपमा समापन गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक कार्यक्रमको आयोजना गरि नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई बिदाइ गरेको छ ।

यस्तै तालिम पश्चात नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई नगर प्रमुखको जिम्मा लगाइएको बताएको छ । नगरपालिकाको जिम्मा लगाउनु पूर्ब प्रशिक्षार्थी नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पूर्ण चन्द्र जोसीले तालिम सम्पन्न पछि आ–आफ्नो नगरपालिकामा उच्च मनोबलका साथ खटिएर काम गर्न निर्देशन समेत दिनु भएको छ ।

आधारभूत तालिमको ३ महिनापछि औपचारिक रुपमा समापन गरिएको हो । मुसीकोट नगरपालिकाको बह्राटाकुरामा सोमबार सम्पन्न कार्यक्रममा नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई दर्जानी चिन्ह समेत प्रदान गरिएको थियो । त्यसैगरि समापन कार्यक्रममा तालिमका बिभिन्न बिधामा उत्कृष्ठ हुने नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई पुरस्कृत पनि गरिएको आयोजकले जानकारी दिएको छ ।