लागुऔषध कारोवारमा वृद्धि, अब प्रहरी चौकी स्थापना हुन्छः डीआईजी जोशी


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका सुरक्षा संवेदनशील क्षेत्रहरुमा अस्थायी रुपमा भएपनि प्रहरी चौकी स्थापना हुने भएका छन् । लागुऔषधको कारोबार, मदिरा उत्पादन तथा बिक्रि वितरणले सामाजिक अपराध बढेको भन्दै स्थानीय तहहरुले त्यस्ता ठाँउहरुमा प्रहरी चौकी स्थापाना गर्न कर्णाली प्रदेश प्रहरी समक्ष माग गरेका छन् ।

६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष एवं उपाध्यक्ष र जिल्ला स्थित सुरक्षा समिती तथा सरोकारवालाहरुसँगको विशेष बैठकमा प्रहरी चौकीको स्थापना गर्न माग गरिएको हो । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआईजी) पुर्णचन्द्र जोशीले जिल्लामा थालिएको मदिरा नियन्त्रणको अभियान सह्रानिय भएको बताउनुभयो ।

रुकुम पश्चिमले सुरु गरेको यो अभियान कर्णाली प्रदेशमा नै गर्ने तयारी भएको जानकारी दिनुभयो । यसै गरी उहाँले आबश्यकता अनुसार प्रहरी चौकी स्थापना गरिने बताउनुभयो । उहाँले भन्नुभयो “मदिरा नियन्त्रण अभियान रुकुम पश्चिमले निकै सह्रानिय काम गरेको छ । यो अभियान कर्णाली प्रदेशभर गरिन्छ ।”

लागु औषध कारोवार नियन्त्रण, अफिम लगायतका लागुऔषध उत्पादनमा रोक तथा मदिरा एवं मदिरा जन्य पदार्थलाई उत्पादन र बिक्री वितरणलाई व्यवस्थित गर्नको लागि पालिका स्तरमा सचेतना अभियान चलाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला समन्वय समितीका प्रमुख राजकुमार शर्माले मदिरा उत्पादन तथा बिक्री वितरणलाई व्यवस्थित गरिएपछि अपराधिक घटना सुन्न परेको बताउनुभयो ।

जिल्ला समन्वय समितीको निर्णयलाई जिल्लाका सबै सरोकारवालाले साथ दिएकै कारण मदिरा व्यवस्थित भएको उहाँको भनाई छ । प्रहरी नायव उपरीक्षक सुमित खड्काले जिल्लाको समग्र शान्ति सुरक्षाको विषयमा प्रदेश प्रहरी प्रमुख जोशी र अन्य जिल्ला स्थित पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलाई जानकारी गराउनुभएको थियो ।