ठगीको आरोपमा चार जना पक्राउ


अछाम ।
तालीमको नाममा ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ‘गण्डकी मल्टिपल इन्स्टिच्युट’को नाममा विज्ञापन खोली छोटो अवधिको तालीम सञ्चालन गर्ने भन्दै १५ जनाबाट प्रतिव्यक्ति रु ७० हजार लिई फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का नरेन्द्रबहादुर साउद, करन साउद, लालबहादुर साउद र एकेन्द्र थापा छन् । नरेन्द्रलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको हो । विद्यार्थीले संयुक्तरूपमा दिएको उजुरीको आधारमा चारैजनालाई पक्राउ गरी उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । कक्षा सञ्चालन नगरी सम्पर्कविहीन भएपछि विद्यार्थीले उजुरी दिएका थिए ।
रासस