सवारी दुर्घटनामा नौ जनाको मृत्यु


काठमाडौं ।
कपिलवस्तु, नवलपरासी (पूर्व), मोरङ, दाङ, सप्तरी र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं, तार्केश्‍वर नगरपालिका-८ नेपालटार फुटुङस्थित सडकमा बा.१० च ८१६९ नम्बरको गाडीको ठक्करबाट २ जना पैदलयात्रीको शुक्रबार दिउँसो मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीमध्ये काठमाडौं नेपालटार बस्ने सिन्धुलीकी २२ वर्षीया लक्ष्मी श्रेष्ठको शिक्षण अस्पताल महाराजगंजमा र रामेछापका टंकबहादुर नेवारका अन्दाजी ३ वर्षीया छोरा मन्दिप श्रेष्ठको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा बा.२ ज ११८८ नम्बरको ट्याक्सीले बा.८३ प ४०३५ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं पेप्सीकोला बस्ने ओखलढुङ्गा सुनकोसी गाउँपालिका-८ का १९ वर्षीय दिपक थापाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालक काठमाडौं बुद्धनगर बस्ने काभ्रे पनौती नगरपालिका-१० का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । फरार ट्याक्सी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० बिकुलीस्थित सडकमा लु.३ त २२९१ नम्बरको ट्याक्टरको हाइड्रोलिक ट्रलिबाट बालुवा खसाल्ने क्रममा बालुवामा पुरिन गई ट्रलीमा सवार लेवर काम गर्ने सोही नगरपालिका-९ हर्नामपुर बस्ने २३ वर्षीय आशिष थारुको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपारसी (पूर्व), गैंडाकोट नगरपालिका-१२ हर्कपुरस्थित सडकमा बा.१९ च ४५७४ नम्बरको बलेरोले युपि ५३ सि वाई ७२८३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत गोरखपुर बस्ने २७ वर्षीय मोइरफान सिद्दिकीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भारत उत्तर प्र‍देश घर बताउने २६ वर्षीय प्रसान्त पाण्डेलाई उपचारको लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ । फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, लेटाङ नगरपालिका-३ लेटाङस्थित भित्री सडकमा को.२७ प ६४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका-७ बस्ने ३० वर्षीय लेखनाथ दंगालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कानेपोखरी गाउँपालिका-७ बस्ने २९ वर्षीय राजन तिमिल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१७ करजैमा शुक्रबार साँझ खेत जोत्ने क्रममा रा.१ त २९०१ नम्बरको ट्याक्टर चिप्लिएर खाल्डोमा खस्दा ट्याक्टरमा सवार सोही स्थान बस्ने अन्दाजी १४ वर्षीय संजय चौधरीको ट्याक्टरमा च्यापियर मृत्यु भएको छ । साथै ट्याक्टरमा च्यापियर घाइते भएका सोही स्थान बस्ने ११ वर्षीय सुभास चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, खडक नगरपालिका-५ स्थित सडकमा ग.१ ख ३७८८ नम्बरको बसले स.११ प ९८६ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा धनगढी नगरपालिका-१ बस्ने ३० वर्षीय वीरेन्द्र चौधरीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनगढी नगरपालिका-१ बस्ने ५२ वर्षीय छटु सदाको राउ स्मारक अस्पताल लहानमा उपचारको भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्युठान, सरुमारानी गाउँपालिका-४ सालडाँडामा रा.१.ज.६५८ नम्बरको सुमो गाडी सडकदेखि अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा चालक प्युठान नगरपालिका-१ बस्ने ३३ वर्षीय चन्द्रबहादुर नेपालीको घटनास्थलमै मृत्यु छ ।

दुर्घटनास्थलमा तत्काल खटि गएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।