पूर्वाधार विकासमा हेटौंडाको विशेष महत्व


रोशन पराजुली
हेटौंडा उपमहानगरपालिकाको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएसँगै विभिन्न पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार छुट्याइएको छ ।
पूर्वाधार विकास निर्माणका लागि उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि उक्त रकम छुट्याएको हो । उपमहानगरपालिका क्षेत्रमा व्यवस्थित बस टर्मिनल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ ।

मुख्य बजारमा सुविधायुक्त भ्युटावर निर्माणका लागि दुई करोड विनियोजन गरिएको हो । हेटौंडा–१० को बसपार्कलाई व्यवस्थित गर्न र बजार क्षेत्रबाट पूर्वी क्षेत्र जाने सवारीसाधनका निमित्त बसपार्क निर्माणको सम्भाव्यता अध्ययन गर्न दुई करोड विनियोजन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

कर्रा करिडोर निर्माण कार्यलाई निरन्तरता दिन दुई करोड विनियोजन गरिएको छ । संघीय र प्रदेश सरकारको सहयोग÷समन्वयमा निर्माण हुने बृहत्तर चक्रपथ निर्माणका लागि दुई करोड विनियोजन गरिएको छ ।

जसमा क्षेत्रगत व्यय अनुमानमा स्थानीय सडक, पुल तथा झोलुंगेपुललाई ८३ करोड ३९ लाख ५० हजार छुट्याइएको छ । सिंचाईतर्फ १५ लाख, भवन तथा सहरी विकासमा १५ लाख, ऊर्जा तथा सडक बत्ती व्यवस्थापनतर्फ ६८ लाख र खानेपानी पूर्वाधार कार्यक्रमका लागि एक करोड ५० लाख छ ।

बजेटमा बसपार्क टर्मिनलमा तीन करोड, बसपार्क भौतिक संरचना निर्माणमा दुई करोड, बाइपास सडक स्तरोन्नति गर्ने कार्यमा ५० लाख, कर्रा करिडोर निर्माणमा दुई करोड, बृहत्तर हेटौंडा चक्रपथ निर्माणमा दुई करोड, भ्युटावर निर्माणमा दुई करोड रकम छुट्याइएको छ ।


अटोभिलेजमा एक करोड, साइक्लिङ ट्रयाक निर्माणमा २० लाख, हेटौंडा अस्पतालमा डायलाइसिस भवन निर्माणमा २५ लाख, मनकामना मन्दिर जाने बाटो निर्माणमा २५ लाख, चन्द्रोदय मावि प्रांगण खेलकुद प्यारापिट निर्माणमा एक करोड, कृषि होलसेल बजार पूर्वाधार निर्माण सहकार्यमा एक करोड र मर्मतसम्भार कोषमा चार करोड ५३ लाख ९५ हजार रकम छुट्याइएको हो ।
कवर्डहल भौतिक पूर्वाधार सुधार क्रमगत योजनाका लागि १ एक करोड ११ लाख छ । जसमा सशर्त अनुदानमा सडक बोर्डले एक करोड ५० लाख र सशर्त अनुदान प्रदेशबाट भने ७ करोड ७३ लाख छ ।

उपमहानगरपालिकाबाट सञ्चालन गरिने विकास निर्माणसम्बन्धि योजनामा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर सुनिश्चित गर्न आधुनिक प्रविधिमैत्री ल्याबटेष्ट स्थापना गरी सञ्चालनमा ल्याइने उपमहानगरपालिकाको योजना छ ।
नगर क्षेत्रको यातायात व्यवस्थापनलाई सुरक्षित, भरपर्दो एवम् प्रभावकारी बनाउन व्यवस्थित बस टर्मिनल भवन निर्माण थालनीको योजना बनाएको छ । स्थानीय पर्यटनको प्रवद्र्धनमार्फत् नगरको आर्थिक समृद्धिमा टेवा पु¥याउन आगामी आर्थिक वर्ष हेटौंडाको मुख्य बजार क्षेत्रमा आधुनिक सुविधायुक्त संरचनासहित भ्युटावर निर्माण प्रारम्भ गरिने उपमहानगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

साइक्लिङ ट्रयाक निर्माण
उपमहानगरभित्र साइकल यात्रीलाई सुरक्षित आवागमनका लागि साइक्लिङ ट्रयाक निर्माण कार्य निरन्तरता दिइनेछ । हेटौंडामा पछिल्लो समयमा साइकल यात्री बढ्दै गएकोले साइकल चलाउन ट्रयाक निर्माण गर्न लागिएको महतले बताउनुभयो ।

बसपार्कलाई व्यवस्थित गरिने
भरपर्दो र सुरक्षित यातायात सञ्चालन गर्न हेटौंडा–१० मा सञ्चालनमा रहेको बसपार्कलाई थप व्यवस्थित गरी हेटौंडा बजारबाट नगरको पूर्वी क्षेत्र जाने सवारीसाधनका निम्ति उपयुक्त स्थानमा बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययन प्रारम्भ गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षबाट निर्माण प्रारम्भ भएको कर्रा करिडोर निर्माण आयोजनालाई विस्तृत परियोजना प्रस्ताव तयार गरी आगामी वर्ष निरन्तरता दिने तयारी रहेको प्रमुख महतले बताउनुभयो । उपमहानगरपालिकाको टीसीएन क्षेत्रमा रहेको जग्गामा नगरपालिका भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाइने भएको छ ।

चक्रपथ निर्माणको तयारी
नगरवासीको आर्थिक तथा सामाजिक रुपान्तरणको आधारको रुपमा रहेको हर्नामाडी, हटिया, चुरियामाई हुँदै पदमपोखरी जोड्ने ६३ किलोमिटर चक्रपथको स्तरीकरण गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन संघीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी निर्माण प्रारम्भ गरिने भएको छ । चक्रपथका कारण नगरका सबै नागरिकलाई फाइदा पुग्ने उहाँको विश्वास छ ।
संघीय तथा प्रादेशिक सरकारसँगको समन्वय र सहकार्यमा योजना तथा भवन निर्माण मापदण्ड एवम् कार्यविधिलाई समयसापेक्ष परिमार्जनको तयारी गरिएको छ ।

चिसापानीमा एकीकृत जग्गा विकास
हेटौंडा–१६ स्थित चिसापानी क्षेत्रमा एकीकृत जग्गा विकाससम्बन्धि कार्यक्रम आगामी आर्थिक वर्षभित्र प्रारम्भ गर्ने गरी संघीय तथा प्रदेश सरकारसँग समन्वय गरिने उहाँले बताउनुभयो । अन्य वडामा सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गरिने छ ।

आधुनिक सभ्यताको मानक नै सुविधायुक्त र व्यवस्थित सहर भएको तथा विकासको यथार्थ स्वरुप सहरी पूर्वाधारबाट प्रतिविम्बित हुने यथार्थ बोध गर्दै यस्तो कार्यक्रम ल्याउन लागिएको हो ।