नेपाल-भारत नाकामा सिसि क्यामेरा


नेपाल समाचारपत्र, बाँके ।

बाँके जिल्ला प्रवेशका सबै नाकामा सिसि क्यामेरा राखिने भएको छ ।

प्रदेश सरकारको सहयोगमा बाँके प्रहरीले जिल्ला प्रवेशका हरेक नाकामा सिसि क्यामेरा राख्ने तयारी गरेको हो ।

सिसि क्यामेराको लागि टेण्डर भइसकेको छ भने बाँके प्रहरीले कहाँनिर राख्दा उचित हुन्छ भन्ने अध्ययन थालेको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी प्रकाश सापकोटा प्राविधिक टोली बुधबार कुसुम पुगेको थियो । डिएसपी सापकोटाले भन्नुभयो, असारको २५ गतेभित्र जिल्लाका हरेक नाकामा सिसि क्यामेरा जडान गरिसक्छौं ।’

पूर्व–पश्चिम राजमार्गको कुसुम र सम्झनाचोक, सुर्खेतरोडको जमुनाहा र चिसापानी तथा बर्दिया जोड्ने हुलाकी राजमार्गको धनौलीमा शक्तिशाली सिसि क्यामेरा राख्ने तयारी भएको हो ।

‘पाँच ठाउँमा दश वटा क्यामेरा राख्छौं, डिएसपी सापकोटाले भन्नुभयो । जमुनामा सिसि क्यामेरा राखेपछि भारतबाट नेपाल प्रवेश गर्ने र बाहिरिने सवारी साधनको निगरानी हुन्छ । कुसुममा राखेको सिसि क्यामेराले पूर्वबाट बाँके प्रवेश गर्ने र बाहिरिने सवारी साधनको निगरानी हुनेछ ।

चिसापानीमा राखिएको क्यामेराले सुर्खेतबाट भित्रिने र बाहिरिने, सम्झनाचोकमा राखिएको क्यामेराले पश्चिमबाट हाइवे हुँदै आएको सवारी साधन र धनौलीमा राखिने सिसि क्यामेराले हुलाकी राजमार्ग हुँदै बर्दियाबाट भित्रिने र बाहिरिने सवारी साधनको निगरानी गर्न सकिने प्रहरीले बताएको छ ।
सिसि क्यामेरा राखेपछि विकृति हट्ने प्रहरीले आशा गरेको छ ।