सरकारले धोका दिन सक्छ भन्दै निकालियो खबरदारी जुलस


सुनील महर्जन, काठमाडौं
राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ।

सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु र भक्तपुर, मध्यपुर, ठिमीलगायत स्थानबाट खबरदारी जुलुस निस्किएको हो। प्रतिबद्धताअनुरूप विधेयक फिर्ता लिने विषयमा धोका हुने भन्दैै खबदारी जुलुस निकालिएको गुठी विधयेक संघर्ष समितिले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले गत साता गुठी विधेयक फिर्ता लिने घोषणा गरेपछि राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्ने भएको छ। गत मंगलबार सो घोषणा गरेको मन्त्री अर्यालले त्यसको तीन दिनपछि मात्र विधयेक फिर्ता लिने औपचारिक प्रस्ताव पठाउनुभएको थियो।

विधेयक फिर्ता लिने सो प्रस्ताव बहुमत सदस्यले पारित गरेमा मात्र सभाबाट औपचारिकरूपमा फिर्ता हुुन्छ। सो विधेयक यसअघि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल भइसकेको छ। ‘यसमा सरकारले धोका दिन सक्छ। त्यसैले हाम्रो आन्दोलनले निरन्तरता पाउनेछ।’ –गुठी विधेयकविरुद्ध संघर्ष समिति ललितपुरका सचिव एवं ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भन्नुभयो।

मंगलबजारबाट शुरू भएको खबरदारी जुलुस टंगाल, लगनखेल, कुमारीपाटी, जावलाखेल, पुल्चोक, नःटोल, महापाल हुँदै पुनः मंगलबजारमा सभामा परिणत भएको थियो। आन्दोलनमा बौद्ध विहार संघ, ताम्रकार समाज, वाराही समाज, ज्यापु समाज, राष्ट्रिय खड्गी सेवा समितिलगायत संघ–संगठनका पदाधिकारी, विभिन्न गुठीका गुठियार, नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए।

यसै गरी राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको अगुवाइमा राजधानीको वसन्तपुरमा बृहत् खबरदारी जुलुस निस्किएको छ। उनीहरू राजधानीमा परम्परागत बाजागाजा, भेषभूषाका साथ सहभागी भएका थिए।

जुुलुसका सहभागीहरूले गुुठी विधयेक खारेज गर, जनताको सचेतना जिन्दावाद, हाम्रो आन्दोलन जारी छ, सम्पदा मास्न पाइँदैन्, गुठी हाम्रो प्राण हो भन्दै नारा लगाएका थिए। सहभागीहरूले सञ्चारमन्त्री गोकुल बाँस्कोटा, भूमि व्यवस्थापन मन्त्री पद्मा अर्याल र गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका थिए।

जुलुस न्युरोड, महांकाल, रत्नपार्क, सुन्धारा, खिचापोखरी हुँदै वसन्तपुरमा पुगेपछि सभामा परिणत भएको थियो। सभामा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, पवित्रमान वज्रचार्यलगायतले विधेयकले लोकतान्त्रिक, गणतन्त्र र संघीयताको मर्ममाथि प्रहार गरेकोमा केन्द्रीत गर्दै आ–आफ्नो भनाइ राख्नुभयो।

एक साताअघि माइतीघर मण्डलामा आन्दोलन केन्द्रीत गरेको गुठी विधेयकविरुद्ध संघर्ष समितिले हिजो भने आन्दोलनलाई विकेन्द्रीकृत स्वरूप दिन विभिन्न स्थानमा खबरदारी जुलुस निकालिएको थियो। विधयेकविरुद्ध लगातार संघर्ष गर्दै आउनुभएका गुठीयार, आन्दोलनकारीले आन्दोलनलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिँदै संघर्षका थप कार्यक्रम पनि घोषणा गरेको छ।

असार १४ गते विधयेकविरुद्ध बृहत् मोटरसाइकल ¥याली, असार २० गते शुक्रबार वसन्तपुरमा विधेयकविरुद्ध ऐक्यबद्धता प्रकट गर्दै आउनुभएका विशेष गरी गैरनेवार समुदायका अगुवा, कानुनविद्हरूको भेला गरिनेछ। विधेयकविरुद्ध स्वतःस्फूर्त रूपमा भएको आन्दोलनलाई व्यवस्थित, संगठित बनाउन चाँडै सम्पूर्ण गुठीयारको प्रतिनिधित्व हुने गरी गुठी सम्मेलन गर्ने तयारी गरेको छ।