राजस्व लक्ष्यभन्दा धेरै उठ्यो


नेपाल समाचारपत्र, काभ्रे
आन्तरिक राजस्व कार्यालय धुलिखेलले चालू वर्षको ११ महिना पुग्दा ७ महिनामा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ।
जेठसम्मको लक्ष्यमा ११७ प्रतिशत धेरै राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ। आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख डम्बरु पराजुलीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका ३२ हजार करदाताबाट जेठ २९ गतेसम्म १ अर्ब ८३ करोड राजस्व संकलन भएको छ। एक अर्ब ६६ करोड लक्ष्य रहेकोमा लक्ष्यभन्दा ११० प्रतिशत धेरै भएको पराजुलीले बताउनुभयो। जेष्ठ महिनामा ८० करोड ५९ लाख लक्ष्य रहेकोमा आयकरतर्फ ९४ करोड ७९ लाख राजस्व संकलन भएको छ। ब्याज करवापत १२ करोड ५ लाख लक्ष्य रहेकोमा १३ करोड ६० लाख संकलन भएको छ। भ्याटतर्फ ५८ करोड ३६ लाख लक्ष्य रहेकोमा ४७ करोड ७९ लाख रुपियाँ संकलन भएको छ। भ्याटमा लक्ष्य भन्दा केही प्रतिशत कम राजस्व संकलन भएको पराजुलीले बताउनुभयो।

अन्तःशुल्कतर्फ १५ करोड ४९ लाख लक्ष्य रहेकोमा २२ करोड ९९ लाख रुपियाँ संकलन भएको छ। भक्तपुर जिल्लामा रहेको आन्तरिक राजश्व कार्यालय चालू आर्थिक वर्षको शुरुमै काभ्रेपलाञ्चोक आउने भनिए पनि मंसिर १ गतेबाट मात्रै कारोबार शुरु गरेको थियो। ठेक्काको भुक्तानी समयमै नभएको तथा करोडसम्मका काम उपभोक्ता समितिबाट हुन थालेपछि भ्याट बापतको रकम कम असुली भएको छ।