देउखुरीको जंगलमा लुटपाट


घोराही । दाङको देखुरीस्थित जंगलमा एक दम्पतीमाथि लुटपाट भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमिलिया तुलसीपुर सडकखण्डमा पर्ने जंगलमा उनीहरूमाथि लुटपाट भएको हो ।

नेपालगंज निवासी अन्सार अन्सारी र उनको परिवारलाई बीच जंगलमा रोकेर ५ जना युवाको समूहले लुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

अन्सारी दम्पतीको साथमा रहेको ६ हजार नगद र सामसुङ कम्पनीको १५ हजार मूल्य पर्ने मोवाईल पनि लुटपाट भएको छ ।

अन्सारी दम्पतीले लुटेरा समूहले आफूहरूलाई हातपात समेत गरेको बताएका छन् ।

बाँकेदेखि दाङको तुलसीपुर तर्फ रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा आइरहेका अन्सारी दम्पतीलाई सोमवार बेलुका आठ बजेतिर बीच जंगलमा रोकेर उक्त समूहले कुटपिट र लुटपाट गरेको थियो ।

लुटपाट गर्ने क्रममा उनीहरूले छुरी तथा घरेलु हतियार र लाठी समेत देखाएर कसैलाई भने ज्यान लिने धम्कि समेत दिएको अन्सारी दम्पतीले बताए ।