लालपुर्जा एउटाको, घर अर्कैको !


जग्गाको स्वामित्व बिबाद सतहमा आउन थाल्यो 

दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतको जलजला–८ का वडा अध्यक्ष हरिबिकास जिसीलाई सोही स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले आफ्नो जग्गा ‘कब्जा’ गरेको आरोप लगाउनुभयो ।

मने दमाईकी आमा असरी दमाईको नाममा लालजुर्जा रहेको जग्गामा वडा अध्यक्ष जिसीका बाबु इन्द्र बहादुरले ३४ बर्ष अघि घर बनाउनु भएको थियो । तत्कालिन समयमा असरीका श्रीमान चन्द्रे दमाईको नाममा फिल्डबुकमा कायम भएको जग्गा कपाली तमसुकका आधारमा २६ हजारमा इन्द्रबहादुर र छबिलाल जिसीले किनेर घर बनाएपनि जग्गाको लाजपुर्जा भने २०६७ सालमा मात्रै असरी दमाईका नाममा निस्क्यो ।
अहिले असरी दमाईका छोरा माने दमाईले आफ्ना लाटा सोझा बाबु आमालाई फकाएर घर बनाएको र घर खाली गर्नुपर्ने भनेर प्रशासन र प्रहरी मात्रै गुहार्नु भएको छैन काठमाण्डौ र चितवनमा दलित अगुवा तथा अधिकारकर्मीको उपस्थितिमा पत्रकार सम्मेलन नै गरेर जग्गा फिर्ता पाउनुपर्ने माग गरिरहनुभएको छ ।

वडा अध्यक्ष हरिबिकास जिसीले आफ्ना बाबुले आफ्ना बाबुले ३४ बर्ष अघि किनेको जमिन अहिले कब्जा गरेको भनेर मने दमाईले जनमानसमा भ्रम फैलाउदै हिडेको भन्दै पत्रकार सम्मेलन गरेरै आरोपको प्रतिबाद गर्नुभएको छ ।

जिसी र दमाईको मात्रै होइन जलजला वडा नं ८ फर्से र लस्दीमा धेरै घरपरिवारको जमिन एउटाको नाममा र घर अर्को ब्यक्तिको नाममा भएको पाइएको छ । एउटै वडामा यस्ता परिवारको संख्या ५० भन्दा बढी रहेको बताइन्छ ।

पहिले बिर्तामा रहेको जग्गाको २०३८ सालमा नापी भएपछि लालपुर्जा तयार नहुँदै किनबेच भएका कारण अहिले स्वामित्व बिबाद बढ्दै जान थालेको छ । एकजनाबाट धेरै जनामा खरिद बिक्री भएका कारण जग्गाको नापी एउटाको नाममा र घर तथा संरचना अरुको नाममा देखिएका छन ।

साबिक नाङ्गलिबाङ्ग गाउँ बिकास समितिका पुर्ब उपाध्यक्ष हरेमबहादुर खत्री भन्नुहुन्छ ‘धेरै जनाको घर एउटाको र लाजपुर्जा अर्को ब्यक्तिको नाममा छ’ उहाँले भन्नुभयो ‘कसैले बेइमानी गर्ने हो भने धेरै परिवारका बिचमा किचलो बढेर जाने अबस्था छ’ उहाँका बाबुले तत्कालिन समयमा १ हजार रुपैयामा बिक्री गरेको जग्गामा ५ घर बनेका छन ।

सो जग्गाको पनि लालपुर्जा छैन तर छुट दर्ता खुलेपछि फिल्ड बुकमा बाबुको नाम कायम भएकाले जग्गा दर्ता प्रकृया शुरु गर्ने योजना पुर्व अध्यक्ष खत्रीको छ । अहिले उक्त जग्गाको मुल्य १ करोड पर्छ तर बुवाको नाममा जग्गाको लालपुर्जा आएपछि घरबनाएर बसेका परिवारलाई नै नामसारी गरिदिने खत्री बताउनुहुन्छ ।

स्थानिय खड्गबहादुर क्षेत्रीका हजुरबाको नाममा रहेको जग्गामा समेत ८ परिवारले घर बनाएर बसेका छन । तत्कालिन समयमा म्याग्दी र मुस्ताङ्ग जाने पैदल मार्गको ब्यापारिक केन्द्र भएकाले सो क्षेत्रमा कपाली तमसुकका आधारमा जग्गा किनबेच भएकाले अहिले धेरै परिवारमा समस्या देखिएको छ ।

अहिले माने दमाईले जग्गाको स्वामित्व दाबी गरेजस्तै धेरै परिवारका बिचमा समस्या आउने देखिएको वडा अध्यक्ष हरिबहादुर जिसी बताउनुहुन्छ । ‘अहिले मेरो परिवारमा समस्या आयो’ उहाँले भन्नुभयो ‘अब धेरै परिवारका बिचमा समस्या आउने भएकाले यसको समाधान खोज्न आवश्यक छ’