अतिक्रमण नहटाएपछि वीरगन्ज सहरमा चल्यो डोजर


कृष्णउदास खनाल, वीरगन्ज ।
पथलैया ६ लेन व्यापारिक सडकमार्ग निर्माणको लागि बाराको जीतपुर बजार क्षेत्रको अतिक्रमण हटाउने काम शुरू भएको छ ।

सडक विभागले दिएको अन्तिम सीमामा जीतपुर बजारका मानिसले अतिक्रमण नहटाएपछि विभागले डोजर लगाएर अतिक्रमण हटाएको हो । जेठ १३ गते डोजर लगाउँदा वडा अध्यक्ष र नगर उद्योग वाणिज्य सङ्घको आग्रहमा तीन दिनको समय प्रदान गरिएको थियो ।

सो समयसीमा समाप्त भएपछि दुर्इ दिनदेखि अतिक्रमण हटाउने कार्य शुरू भएको योजना प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो ।

जीतपुर र परवानीपुर बजारको अतिक्रमण हटाउने सन्दर्भमा स्थानीयवासीले मुआब्जा माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला प्रशासन, ठेकेदार कम्पनी, विभाग र सरोकारवाला जग्गाधनीबीच केही महीनाअगाडि अदालतको आदेश अनुसार सडकखण्डमा परेका जग्गाहरूको सन्दर्भमा लगत तयार गरेर अदालतको पैmसला अनुसार क्षतिपूर्ति पाउने–नपाउने सन्दर्भमा सहमति भएको थियो । अदालतको आदेश दुवै पक्षलाई मान्य हुनेगरी सहमति भएपछि ६ लेन सडकको कामले तीव्रता पाएको हो ।

उक्त योजना प्रमुख मिश्रले ६ लेन सडकको काम पछिल्लो समयमा देखिनेगरी अगाडि बढेपनि तोकिएको समयमा कार्य सम्पन्न नहुनुको कारण पाइपलाइन प्रोजेक्ट, सडक सीमा अतिक्रमण, वन क्षेत्र, बिजुलीका पोल, तार, खानेपानी पाइपलाइन, औद्योगिक ढल निकास, सडक किनारमा थन्किएको खरानी र बेलाबेलामा भएको प्राकृतिक विपदा, निर्माण सामग्री र जनशक्तिको अभाव तथा व्यापारिक मार्ग निर्माणमा सवारी चापको समस्याले गर्दा ठेकेदारहरूले काममा ढिलाइ गर्ने आधार पाएको बताउनुभयो ।

६ लेन सडक निर्माणको कार्य ३० महिनामा सम्पन्न हुनुपर्ने हो । गत पुस २८ गते ३० महिना सकिएपछि विभागले यही असार मसान्तसम्मको लागि ६ महिना समयावधि थपेको थियो ।

३० महिनामा ३० प्रतिशत मात्र कार्य सम्पन्न भएको र अहिले जेठको आधाआधीमा ४० प्रतिशत काम सम्पन्न भएकोले योजनाको काम तोकिएको अवधिमा पूरा नहुने देखिएपछि अन्तिम समयको लागि १ वर्षको म्याद थप भएको छ ।विभागले आव २०७६/७७ को असार मसान्तसम्म कुनैपनि बहाना नलाग्ने गरी काम सम्पन्न गर्नुपर्ने शर्तमा एक वर्षको म्याद थप भएको स्रोतले जनाएको छ ।