प्रधानमन्त्री परिवर्तन स्वाभाविक


बेला आएपछि सहमति कार्यान्वयन हुन्छ ः शर्मा
नेपाल समाचारपत्र, काठमाडौंं
पहिला नै सार्वजनिक भइसकेको तत्कालीन एमाले र नेकपा माओवादीबीचको सहमति पुनः एकपटक बाहिर आएको मात्र हो, बेला आएपछि त्यसको कार्यान्वयन हुनैपर्छ।
एक वर्षअघि भएको सहमतिका साक्षी स्थायी समिति सदस्य जनार्दन शर्माले भन्नुभयो– ‘बेला आएपछि नेतृत्व परिवर्तन भएन भनेचाहिँ समाचारको विषय हुन्छ, प्रधानमन्त्री परिवर्तन हुने भनेर तरंग ल्याउनुको अर्थ छैन।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो हुने लिखित सहमति भएको विषय सार्वजनिक गरेपछि पार्टीभित्र नयाँ बहस सृजना भएको छ। सहमति कार्यान्वयन गर्न अझै एक वर्षभन्दा बढी समय बाँकी रहेको छ। तर प्रचण्डले एक अन्तर्वार्तामा सरकारको नेतृत्व हेरफेर हुने अभिव्यक्ति दिएको विषयलाई मिडियाले उठाएपछि शर्माले यो टिप्पणी गर्नुभएको हो।

पार्टी एकतापूर्व नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पाँचबुँदे सहमति भएको थियो, जुन सहमति सार्वजनिकरूपमा बाहिर पनि आइसकेको छ।
नेतृत्व परिवर्तन हुँदा पनि नेकपाभित्रबाटै हुने हो। नयाँ गठबन्धन बन्ने कुनै सम्भावना नै छैन। शुरूमा एकतापूर्व एक जना अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको नेतृत्व गर्ने सहमति भने अझै कार्यान्वय हुन सकेको छैन। नेकपाको सचिवालय र पोलिटब्युरोमा बहुमत नेताहरू सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले लिन नहुने पक्षमा देखिएका छन्।

यद्यपि उक्त विषयलाई प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीले कुनै पर्वाह नै गर्नुभएको छैन। पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दासमेत पार्टीको सांगठनिक एकता प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन।

प्रचण्ड पार्टीको अध्यक्ष भएपछि कुनै पनि निर्णय लिनका लागि अर्का अध्यक्ष ओलीलाई कुर्नुपर्ने अवस्था रहेको छ। प्रचण्ड सहमतिको पर्खाइमा रहनुभएको छ। ओलीले सरकारको नेतृत्व गरेपछि सहमतिअनुसार स्वाभाविकरूपमा प्रचण्डले पार्टीको नेतृत्व गर्नुपर्ने हो। तर ओलीले पार्टी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिन इच्छा देखाउनुभएको छैन।

प्रचण्डले प्रधानमन्त्री हुनेभन्दा पनि पार्टीको अध्यक्षको जिम्मेवारी पाए ओलीलाई नै पाँच वर्ष निरन्तरता दिन पनि सकिने अभिव्यक्तिसमेत आएको छ। पार्टी एकीकरणको कामप्रति प्रचण्ड त्यति धेरै सन्तुष्ट नभए पनि पार्टीको बैठकमा सन्तुलित भूमिकामा देखिँदै आउनुभएको छ।

विगतमा सहमति पालना नहुँदा तत्कालीन अवस्थामा प्रचण्डले कांग्रेससँग गठबन्धन बनाएर नौ महिना सरकारको नेतृत्व गर्नुभएको थियो। सहमतिअनुसार नौ महिनापछि कांग्रेसलाई सरकार छाड्नुभएको थियो। अहिले विगतमा दुई पार्टीबीच एकीकरण भएर नेकपा बनेको छ। प्रचण्डले विगतको जस्तै सहमति कार्यान्वयनमा आलटाल गर्नुभन्दा पनि सहमतिअनुसार बढ्नुपर्ने संकेत गर्नुभएको छ। तत्कालीन अवस्थामा अध्यक्ष ओलीले सहमति कार्यान्वयन नगर्ने अडान लिँदा सत्ता समीकरण नै परिवर्तन भएको थियो।
तथापि अहिले त्यो अवस्था भने छैन। एकतापूर्व भएको सहमति यसअघि नै सार्वजनिक भइसकेको छ। प्रचण्डका अभिव्यक्तिले पुनरताजगी बनाउने मात्र काम भएको हो। नेकपाका नेता एवं सहमतिपत्रमा हस्ताक्षरकर्ता जनार्दन शर्माले सहमति कार्यान्वयन हुने समय आउन नै बाँकी रहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लिखितरूपमा सहमति भएकै छ, बेला आएपछि लागू हुन्छ, अहिले नै सहमतिबारे बहस गर्नु जरुरी छैन।’

नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने बताउनुभएको छ। शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने बताउनुभयो।

दुई दिनअघि मात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता घोषणाअघि आफू र प्रधानमन्त्री ओलीबीच अढाइअढाइ वर्ष प्रधानमन्त्री हुने गरी लिखित सहमति भएकाले त्यो सहमति तोडिए कसैलाई राम्रो नहुने चेतावनी दिनुभएको थियो।