गोतामकोटलाई कृषि गाउँ बनाइने


धनवीर दाहाल, रुकुम ।
साविकको गोतामकोट गाँविस अहिले आठबिसकोट नगरपालिका वडा नं ४ र ५ मा पर्दछ । डोल्पा जिल्लासँगको सिमाना जोडिएको गोतामकोटलाई कृषि गाँउ बनाउन पहल थालिएको छ । फैलिएको फाँटलाई कृषिगाउँका रुपमा स्थापित गर्न संघीय सरकारबाट विनियोजित बजेटबाट यसको कामसमेत सुरु गरिएपछि स्थानीय खुसी भएका छन् । गोतामकोटको भू–भागलाई पहिले एकीकृत गर्ने र त्यसलाई विभिन्न क्लष्टरमा विभाजन गरी नमूनाको रुपमा विकास गरिने भएको हो ।

बस्ती बसाउन र खेती गर्न बैज्ञानिक हिसाबले जमिन बाँडिने नगरपालिकाले जनाएको छ । कृषि गाँउका लागि यहाँका सबै स्थानीयको एउटै लालपूर्जा बनाइने आठविसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । पञ्चवर्षीय योजनाका रुपमा अगाडि बढाइएको यस कामका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट ५ करोड रुपियाँ प्राप्त भइ सोही अनुसार काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

‘प्रविधिको उच्चतम प्रयोगबाट संयुक्त रुपमा सुधारिएको व्यवसाय प्रवद्र्धन गर्दै नमूना गाउँ बनाउन यसको अवधारणा ल्याइएको हो ।’ नगरप्रमुख केसीले भन्नुभयो, ‘प्रविधिको विकास, स्थानीयको चेतनास्तरमा बृद्धि र बजारीकरणलाई समेत यस योजनाले मद्दत पुग्नेछ ।’ चालु आर्थिक वर्षको ५ करोड बजेटबाट झिम्रुखोला मुहानबाट खानेपानी र सिंचाईको लागि काम सुरु गरिएको बताइएको छ । यसका साथै स्थानीयलाई एग्रोभिलेजको अवधारणाबारे सचेतना अभिबृद्धि गर्ने गतिविधि पनि सञ्चालन गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।

कृषि गाँउमा फलफूलको हाईटेक नर्सरी, बाख्रा र भैंसीका लागि आधुनिक गोठ लगायतका संरचनाहरु रहनेछन् । त्यस्तै गाउँको माथिल्लो छेउमा रहेको गैरापातलमा स्याउ र किबीको बगैँचाहरु समेत व्यवस्थित गरिने आठविसकोट नगरपालिका –४ का वडाध्यक्ष बाबुराम विष्टले जानकारी दिनुभयो । आगामी वर्षमा यसको निरन्तरताका लागि संघीय सरकारबाट पनि प्रर्याप्त बजेट आउने र आवश्यकता भएमा नगरपालिकाले समेत थप गर्ने योजना रहेको बताइएको छ । पाँचवर्षपछि सम्पूर्ण काम पूरा हुने यस गोतामकोट एग्रोभिलेजको नक्सा यससम्बन्धी विज्ञ साधुराम सिंह बस्नेतले तयार गरेको नगरप्रमुख केसीले बताउनुभयो । योजनाबाट स्थानीय करिब दुईसय घरधुरी लाभान्वित हुने उहाँको भनाई छ । आफ्नो ठाँउलाई कृषि गाँउको रुपमा विकास गर्न थालेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।