असिनाले बीउ जोगाउन पनि धौधौ, भोकमरीको चिन्ता


दुर्गाप्रसाद शर्मा, पर्वत ।

बारीमा हुर्लुक्क बढेका मकै दिनभर गोडमेल गरेर खाजा खान लागेकी धनकुमारी परियारले खाजा नसक्दै घरबारीको मकै सबै सोत्तर बने । आधा घण्टा अघि मान्छे हराउने मकैका बोट असिनाले हानेपछि बारीमा खोज्नुपर्ने अबस्थामा पुगे । हुर्केका मकै संगै बर्षदिनका लागि खाद्यान्न पुग्ने भनेर बसेकी धनकुमारीको सपना असिनाले चकनाचुर बनायो ।

फलेबास नगरपालिका वडा न ३ शंकरपोखरीको पर्कुोटकी धनकुमारीको मात्रै होइन सयौ परिवारको सपना बुधबार दिउँसोको असिनाले चकनाचुर बनाएको छ । सय बर्षपछि परेको भीषण असिनाले मकैबाली पुरै नष्ट गरेको छ । खेतमा घोगा लागेको र बारीमा हर्लक्क बढेको मकै माटोमा मिलेपछि पिडीतहरुलाई भोकमरीको चिन्ताले सताउन थालेको छ ।

असिनाले शंकरपोखरीको पुर्कोट, चाम्लाखेत, थुम्का, थापाथर, भैरबथान, भलपोखरा, देउपुजा लगायतका बस्तीमा लगाएको मकै, तरकारी, फलफु पुर्णरुपमा नष्ट भएको छ । यी बस्तीहरुमा खाद्यान्न, तरकारीबाली पुर्णरुपमा नष्ट भएको छ भने छिमेकी बस्तीहरुमा पनि ५० प्रतिशत भन्दा बढी क्षति पुर्याएको छ ।

असिना पानीका कारण मकैबालीमा सबैभन्दा बढी क्षति भएको छ । मकै यहाँको प्रमुखबाली हो । मकैको उत्पादन शुन्य भएपछि गाउँमा भोकमरी शुरु हुने पिडीत पार्वती दर्जी बताउनुहुन्छ । ‘धान फल्ने खेत छैन, कोदोको बीउ र मकै नफलेपछि भोकभोकै बस्नुपर्ने भयो बर्षभरि नै’ पार्वतीले भन्नुभयो‘निमेक खान जान पनि छिमेकीको पनि सबै मकै असिनाले नासियो’ पुर्कोटका ५० घर दलित परिवारले तत्काल राहतको माग पनि गरेका छन । पुर्कोटमा धेरै घरका छाना समेत असिनाले काम नलाग्ने गरि छियाछिया बनाएको छ ।

शंकरपोखरीकै पुर्कोट कुडापानीका ९० बर्षिय धनबहादुर खत्री आफुँले यति ठुलो असिना परेको जीवनमै पहिलो पटक देखेको बताउनुहुन्छ । २५ बर्ष पहिले असिना परेपनि पुस माघमा परेका कारण खेतबारी बाँझो भएकाले क्षति नभएको उहाँको भनाई छ । ‘यति ठुलो असिना परेको जीवनमा पहिलो पटक देखे’ उहाँले भन्नुभयो ‘यो बर्षको असिनाले छोरानाती भोकभोकै हुनेभए’

कृषिज्ञान केन्द्रका प्रमुख बासुदेब रेग्मीले कृषकहरुले कोदोको नयाँ बिउ राखेर केही राहत लिन सक्ने भएपनि मकैबालीबाट उत्पादन शुन्य हुने अबस्था आएको बताउनुभयो । ‘धेरै बस्तीहरुमा मकै ९० देखि १ सय प्रतिशत नष्ट भएको देखियो’ स्थलगत अनुगमन पछि प्रमुख रेग्मीले भन्नुभयो ‘प्रकोप पिडीत कृषकहरुका लागि कृषक राहत कोषको आबश्यकता भैसकेको छ’ जलबायु परिर्वतनका कारण असिनाको प्रकोप बढेको उहाँको भनाई छ। पर्वतमा यो साता मात्रै केही क्षेत्रबाट सबैतिर खाद्यान्न, तरकारी र फलफुल क्षति पुग्दा करोडौ नोक्सान भएको बताउनुभयो ।

असिना पिडीतको अबस्था बुझ्न पुगेका फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले असिना पिडीतहरुको राहतका लागि स्थानिय पालिका र सबै क्षेत्रबाट राहतको पहल गर्ने आश्वासन दिनुभयो । ‘असिनाले बालीनाली पुर्णरुपमा क्षति भएको अबस्था छ’ उहाँले भन्नुभयो ‘मुख्यबाली नै क्षति भएपछि बैकल्पिक बाली लगाउने अबस्था समेत नभएका कारण राहत बितरण गर्नुपर्ने अबस्था छ ।’

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सबै पालिकाहरुबाट क्षतिको बिबरण आएपछि संघ र प्रदेश सरकार संग राहतका लागि अनुरोध गरिने बताउनुहुन्छ । तत्कालका लागि स्थानिय पालिकाहरुले राहत दिन र क्षतिको बिबरण संकलन गर्ने काम भैरहेको बताउनुभयो ।