किताब–कापी बिर्से हुन्छ, पानीका बोतल नबिर्सनू


सिर्जना पन्त, बागलुङ
करिश्मा श्रीष । हरेक दिन विहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यमिक विद्यालयको कक्षा १० मा पढ्छिन् । सबेरै उठेर उनलाई पढ्नु मात्र छैन विद्यालय गएपछि पिउने र शौचालय जाँदा चहिने पानीको जोहो पनि गर्नुछ । विद्यालयबाट पाँच मिनेटको दुरीमा एउटा धारो त छ तर धारामा पानी वर्षको ६ महिना आउँछ । माघदेखि असार महिनासम्म धारामा कमिला दौडिन्छन् ।

घरबाट आधा घण्टाको दुरीमा पर्ने धारामा विहान ५ देखि ८ बजेसम्म पानी आउँछ । करिश्मा जस्तै गाउँभरिबाट पानी थाप्न जम्मा भएकाहरुका गाग्री, बोतल, ग्यालिन साढे चार बजेबाटै लाइनमा लगाइन्छन् । ८ बजेसम्म केही भरिए पनि केही रित्तै घर फर्कन्छन् । यहाँका विद्यार्थीलाई किताब कापी विर्सने छुट छ तर, पानीले भरिएका बोतल विर्सने छुट छैन ।

विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययन गर्छन् । विद्यालयले छात्राहरुको लागि छुट्टै शौचालयको व्यवस्था गरेको छ, शौचालयमा प्रयोग गर्ने पानी भने उनीहरुले घरबाटै बोकेर ल्याउँनुपर्छ । ‘स्कुलमा पिसाब लाउँछ भनेर मैले त पानी नै पिउन्न’– करिश्मा भन्छिन्, ट्वाइलेटमा पानी नभएर फोहोरले खुट्टा टेक्ने ठाउँ छैन । ‘स्कुलको ट्वाइलेट प्रयोग गर्दिनँ भन्दा पनि महिनाको चार–पाँच दिन नगरि सुख हुँदैन’, करिश्मा भन्छिन्, ‘महिनाबारीकोे बेलामा स्कुल आउँनै मन लाग्दैन ।’

शिक्षीका दिलमाया घर्तीले भन्नुभयो, आँखा चिम्म गरेर मुख छोपेर पिसाब फेर्छाै । ‘छात्राहरुलाई स्यानेटरी प्याडको व्यवस्था गर्न सकिएको छैन, घर्तीले भन्नुभयो, वर्षांैदेखि छात्राहरुले महिनाबारी भएको पाँच दिन काल काट्नु पर्छ ।’ विद्यालयका अधिकाशं शौचालय पानी नभएको कारणले प्रयोगविहीन भएका छन्, घर्तीले भन्नुभयो, खुल्ला राखिएका शौचालय पनि प्रयोग गर्न सकिने अवस्थामा छैनन् ।

विद्यालयमा मात्र होइन बडिगाड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने माइन गाउँ, किम्ले, घोरलचिरे, भुसखाने डाँडा, गुह्येश्वरी र माझ गाउँका गरि करिब ३ सय ३० घरधुरीमा पिउने पानीको चरम अभाव छ । पिउनको लागि मात्र नभएर यहाँका स्थानीयहरुले खाना बनाउँदा, गाई वस्तुलाई खुवाउँदा, लुगा धुँदादेखि शौचालय जाँदासमेत पानी खर्च गर्न सोच्नुपर्छ ।

सिसाखानीमा पानीको समस्या हल गर्न अहिले गण्डकी प्रदेश सरकारदेखि, बडिगाड गाउँपालिका र वडा कार्यालयले आवश्यक तयारी गरिरहेको वडा अध्यक्ष खडग पुनले बताउँनुभयो । वर्षांैदेखिको पानीको समस्या समाधान गर्न यो वर्ष बजेट विनियोजन गर्ने पुनले बताउनुभयो ।