‘शक्तिशली’ बन्ने होडमा हँसियाले रेटेर साढे दुई वर्षको बालकलाई बलि दिने पक्राउ


जनकपुर । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा साढे दुई वर्षिय बालकको बलि दिएको रहस्य खुलेको छ । स्थानिय शत्रुधन महतोले बालकको बलि दिए आफू ‘शक्तिशाली’ हुने भन्दै साढे दुई वर्षका बालकको बलि दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बताए।

प्रहरीको अनुसन्धानबाट वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव बलि दिएर फालेको खुलेको हो । आर्यनको घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो ।


मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरको ढोकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी महतोले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

महतोले गर्ने धामीझाक्रीको काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा धारिलो हतियार (हँसिया) ले रेटेर बालकको हत्या गरेका हुन् । प्रहरीले महतोले हत्याका बेला लगाएका लुगा र प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ।