आज ‘राष्ट्रिय महिला अधिकार दिवस’: विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ । पहिलोपटक ‘राष्ट्रिय महिला अधिकार दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ बिहीबार सरकारले यो वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा विभिन्न कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । अझै पनि समाजमा बोक्सीको आरोपमा कुटपीट, घरेलु हिंसा, बलात्कार, दाइजोजस्ता दुर्व्यवहार कायम रहेकाले यो दिवसले यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ ।

वि। सं २०६३ सालमा प्रतिनिधि सभामा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव ‘आमा वा बावुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी अहिलेलाई कम्तीमा एक तिहाई महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न’ पारित भएको दिनको सम्झनामा सरकारले जेठ १६ गते ‘राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय भएको हो ।