प्रधानमन्त्रीले सिंहदरवारबाटै योजनाको लाइभ सम्वाद गर्ने


गंगा बराल, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारबाटै योजनाको लाइभ संवाद गर्ने गरी बुधबार आफ्नो कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याउनुभएको छ ।

प्रधानमन्त्री ओलीले ७ वटै प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको समस्या तत्काल समाधानका लागि मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष भिडियो संवाद गर्ने व्यवस्थासहित सिंहदरबारस्थित आफ्नै कार्यालयमा बुधबार सोको एक्सन रुम उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारका समस्या र अवस्थाहरुको प्रत्यक्ष जानकारी लिई तत्काल समस्या समाधान गर्न सो एक्सन रुम सञ्चालनमा ल्याइएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उहाँले प्रविधिको माध्यमबाट मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिन पनि सो एक्सन रुमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले एक्सन रुमको स्थापना हुनु सुखद् रहेको बताउनुभयो । उहाँले कुन ठाउँमा कुन आयोजना के भइरहेको छ भनेर यहीँबाट बुझ्न सकिने भएकाले काममा तिव्रता हुने पनि बताउनुभयो ।

‘अब प्रधानमन्त्रीले सबै प्रदेशका मुख्यमन्त्रीसँग सिंहदरवारबाटै सिधै सम्बाद गर्नुहुन्छ’ प्रवक्ता कुँवरले भन्नुभयो ‘पहिलोपटक राष्ट्रिय गौरवका ११ वटा आयोजना हेरिने छन् ।’ राष्ट्रिय गौरवका २१ वटा आयोजना बर्षौदेखि अलपत्र अवस्थामा छन् । प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको नतिजा व्यवस्थापन महाशाखाको एउटा शाखाका रुपमा तत्काल समस्या समाधान केन्द्र रहेको छ । प्रधानमन्त्री कार्यालयमा कोठाको अभाव भएपछि यो नजिकै रहेको उर्जा ,जलश्रोत तथा सिँचाई मन्त्रालयको भूँइतलामा रहेको छ ।

संघीयता कार्यान्वयनका लागि पनि प्रधानमन्त्री ओलीले स्थापना गर्नुभएको सो एक्सन रुमले सघाउ पु¥याउने प्रदेशका मुख्यमन्त्रीहरुको विश्वास छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीबाहेक सबै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले भिडियो कल (टेली प्रिजेन्ट) गर्नुभएको थियो । प्रधानमन्त्रीले कर्णाली प्रदेशका भने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासँग सम्बाद गर्नुभएको थियो ।

सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री ओलीको स्थापना गर्नुभएको सो एक्सन रुमले संघ र प्रदेश सरकारबीच देखिएको सबै समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री ओलीले स्थापना गर्नुभएको सो एक्सन रुमले संघीयता कार्यान्वयनका लागि सहज बनाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गर्नुभयो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताको अपेक्षाअनुसार प्रदेश र स्थानीय तहको कामलाई अघि बढाउन प्रधानमन्त्री ओलीले सञ्चालनमा ल्याउनुभएको एक्सन रुम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विकास गरेर मुलुकलाई नै समृद्ध बनाउने चाहना सो एक्सन रुमको संचालनले साकार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विकास गरेर मुलुकलाई नै समृद्ध बनाउने चाहना सो एक्सन रुमको सञ्चालनले साकार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटो सम्पन्न गर्न अनुगमनको पनि अनुगमन गर्ने नीति अनुसार सो एक्सन रुम सञ्चालनमा ल्याएको हो । सो एक्सन रुमबाट सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष भिडियो कलगरी त्यहाँको समस्या समाधानका लागि प्रधानमन्त्री आफैंले एक्सन लिन सक्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।