प्रधानमन्त्री ओली आज दिल्ली जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) भारतका नव निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नयाँदिल्ली जाँदैछन् ।

मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्द समक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनेछन् । भारतका नव निर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार नै शपथ ग्रहण गर्दैछ ।

मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए । यस पटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याएका छन् । प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।