कांग्रेस असन्तुष्ट


नेपाल समाचारपत्र, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि प्रकट गरेको छ । बुधबार संघीय संसदमा प्रस्तुत बजेटमाथि प्रतिक्रिया दिँदै कांग्रेसले गत वर्ष प्रस्तुत गरिएको बजेटकै परिमार्जित निबन्धजस्तो भएको जनाउँदै हावादारी बजेट भनेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को लागि प्रस्तुत गर्नुभएको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट वक्तव्य सुनेपछि कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले यो बजेट हावादारी भएको बताउनुभएको छ । बजेट वितरणमुखी भएको भन्दै उहाँले खर्च गर्ने क्षमता नभई कार्यक्रमहरु राखिएको पनि बताउनुभएको छ ।

–कार्यान्वयन हुन सक्दैन
–क्षमताविनाको कार्यक्रम समावेश
–अघिल्लो बजेटको परिमार्जित निबन्ध

बजेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले सरकारले बजेटमा उल्लेख गरेको कुरा पूरा गर्न नसक्ने भन्दै बजेटलाई हावाको संज्ञा दिनुभएको हो ।
बजेटबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत बजेट यसअघि आएको बजेटकै परिमार्जित निबन्ध जस्तो भएको बताउनुभएको छ । अघिल्लो बजेटमा आएका कतिपय कार्यक्रम प्रभावकारी नभएको अवस्थामा पनि अहिले फेरि त्यही कार्यक्रमलाई थप बजेट आउनुले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका उबिजएको उहाँले बताउनुभएको छ ।

अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड विनियोजन गरिए पनि एक प्रतिशत पनि काम नभएको भन्दै कांग्रेस प्रवक्ता अहिले त्यही कार्यक्रमका लागि ५ अर्ब छुट्टाइएको बताउनुहुन्छ । यो बजेटमा बालश्रम अन्त्य गर्ने, बस्ती स्तानन्तर गर्ने जस्ता केही राम्रा कार्यक्रम भए पनि कार्यान्वयनको पाटो भने स्पष्ट नदेखिएको उहाँको भनाइ छ ।

अघिल्लो बजेटमा प्रस्तुत कृषि आधुनिकीकरण जस्ता विषय पनि यो वर्ष के गर्ने भन्ने स्पष्ट नभएको प्रवक्ता शर्मा बताउनुहुन्छ । यो बजेटले तलब वृद्धि गरे पनि मूल्य नियन्त्रणका लागि कुनै कार्यक्रम नल्याएको उहाँको भनाइ छ ।