मोदीबाट हराउन थाले स्वादिला असला माछा


नेपाल समाचारपत्र, पर्वत ।
स्वादिलो असला माछाका लागि परिचित मोदीखोलाबाट असला माछा लगायतका जलचर हराउन थालेका छन ।
पर्वतको उत्तर पूर्वी भाग भएर बग्ने मोदीखोलामा आयोजना बढेसँगै नदीका असला माछा सहित जलचर भने संकटमा परेका हुन् ।
हिमालबाट बगेर आउने चिसो पानीमा खेल्ने असला माछाको खानीको रुपमा ख्याती कमाएको मोदी नदीको अधिकांस भाग हिउँदमा सुख्खा हुने गर्दा मोदीमा असला माछा लोप हुन थालेका छन । मोदी खोलामा सञ्चालित, निर्माणाधीन र निर्माणको प्रक्रियामा रहेका गरी ७ वटा जलविद्युत् आयोजनाका कारण जलचर भने संकटमा पर्न थालेको संरक्षणबिद्ले चिन्न्ता ब्यक्त गरेका छन ।

हाल निर्माण सम्पन्न भईसकेका २ वटा आयोजनाले न्यूनतम रुपमा खोलामा छाड्नुपर्ने पानी समेत नछाडेको पाईएको स्थानीयवासीहरु बताउँछन् । खोलामा पानीको मात्रा कम हुँदा माछा लगायतका जलचरहरु संकटमा रहेको जानकारी भएपछि गाउँपालिकाले समेत आयोजनालाई ध्यानकर्षण गराएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो । ‘यस सम्बन्धमा जनगुनासो आएपछि संबन्धित आयोजनाहरुलाई ध्यानाकर्षण गरायौं’ उहाँले भन्नुभयो–‘उनीहरुले पनि उचित सम्बोधन गरेको पाएनौं ।’ उहाँका अनुसार आयोजनाले हप्ता, पन्ध्र दिनमा एक पटक पानी छाडेको देखाउने गरेको तर न्यूनतम १० प्रतिशत पानी नियमित छाड्नुपर्ने नियम पालना नगरेको बताउनुभयो । जसका कारण मोदीमा माछाको संख्या कम भईसकेको छ ।

ग्ण्डकी प्रदेशमा नैै असला माछाका लागि प्रसिद्ध अम्मोटका होटल व्यापारी नवराज क्षेत्रीका अनुसार खोलामा पानी नछाड्दा पहिलाको जस्तो माछा नपाईने गरेको बताउनुभयो । उहाँले कतिपय ठाउँमा त सुरुङका कारण खोला नाला समेत सुकिसकेको जानकारी दिनुभयो । ‘पहिला निकै माछा पाईने ठाउँमा अहिले हराउँदै जान थालेकाछन्’ उहाँले भन्नुभयो–‘खोजेको मात्रामा माछा नपाउने मात्रै होईन तल्लो मोदीका कारण अम्मोटे खोला समेत सुकिसक्यो ।’

तल्लो मोदीखोलाको सुरुङ निर्माणसँगै अम्मोटे खोला सुकेको भएपनि आयोजनालाई ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदिएको बताउनुभयो । धेरै पटक आयोजनालाई र जिल्ला प्रशासन लगायतका निकायमा जानकारी दिँदा समेत कुनै सुनुवाई नभएको उहाँले बताउनुभयो ।

मोदी खोलाको शिरदेखि अन्त्यसम्म जल विद्युत आयोजना निर्माणको अनुमति भईसकेको छ । कास्कीको बिरेठाँटीमा रहेको मध्य मोदी आगामी वर्षमा निर्माण सम्पन्न भएसँगै कुस्मा नगरपालिका–८ को जम्मुरासम्म खोला सुरुङ र नहरमा मात्रै हुने भएको हो । त्यसपछि यससँगै निर्माणको अनुमति पाएका सुपर मोदी, अपर मोदी, तल्लो मोदी बी लगायतका आयोजनाको निर्माण भएसँगै कास्कीको घान्द्रुकदेखि कुस्माको मोदीवेणी धामसम्म खोलाको पानी सुरुङ भित्र पुग्नेछ ।खमोदीखोलामा नेपाल विद्युत् प्राधिकरणले २०५३ सालदेखि निर्माण थालेको १४ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५९ देखि उत्पादन शुरु गरेको थियो ।