दुर्घटनामा कर्मचारीका अध्यक्ष ढकाल र उपाध्यक्ष गुरागाई घाइते


काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष बैकुण्ठ गुरागाई सवारी दुर्घटनामा घाइते हुनुभएको छ ।

तेह्रथुमबाट काठमाडौं फर्कने क्रममा उहाँहरु सवार बा १ ज ५१२९ को गाडी गत बिहीबार राती काभ्रेको भकुण्डेबेसीमा दुर्घटना भएको हो । राती २ बजे भएको दुर्घटनामा अध्यक्ष ढकालको बाँया हातमा र उपाध्यक्ष गुरागाइको छातीमा चोट लागेको परिवारले जनाएको छ । गाडी सडक छोडेर खाल्डोतिर पसेको ढकालले जनाउनुभयो ।

स्थानीयबासी र प्रहरी प्रशासनको सहयोगमा घाइतेलाई राती नै एम्बुलेन्समा ल्याई काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइँदैछ । दुबैको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

ढकालको अर्थोपेडिकको १ सय ४४ र गुरागाइको १ सय ४५ नम्बर कोठामा उपचार भइरहेको छ । दुबै घाइतेलाई चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका छन् । उहाँहरुको बुधबार डिस्चार्ज गर्ने तयारी छ ।