एपीएफको दोस्रो जित


नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल एपीएफ क्लबले दोस्रो जित हात पारेको छ ।

सोमबार त्रिवि मैदानमा भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले हराएको हो । योसँगै एपीएफले लगातार दोस्रो जित हासिल ग¥यो । पहिलो खेलमा एपीएफले पारस खड्का र ज्ञानेन्द्र मल्ल सम्मिलित टोली प्रदेश ३ लाई ४१ रनले हराएको थियो ।

सुदुरपश्चिमबाट निर्धारित गरिएको १ सय २६ रनको लक्ष्य एपीएफले ३४.४ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो । टोलीका लागि कप्तान पृथु बास्कोटाले ३२ रन योगदान दिए । पृथुले ४७ बलमा ५ चौका प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । त्यस्तै ओपनर शरद भेषवाकरले ३६ बलमा ३ चौका र १ छक्कासहित २६ रन बटुले । सुदूरपश्चिमका लागि विनोद लामाले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ३७.१ ओभरमा अल आउट हुँदै १ सय २५ रन समेटियो। टोलीका लागि लोकेश बलल सर्वा्धिक ३० रनको योगदान दिए । एपीएफका लागि अभिनाष बोहोराले ९ ओभरमा १ मेडन सहित २९ खर्चेर २ विकेट लिए ।

पारसको टोलीको जित
पहिलो खेलमा एपीएफसँग पराजय बेहोरेको पारस खड्काको टोली प्रदेश ३ ले प्रतियोगितामा पहिलो जित हासिल ग¥यो । मूलपानी मैदानमा भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पन्छाएको हो ।

१ सय २३ रनको लक्ष्य प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको थियो । टोलीका लागि ओपनर रित गौतमले सर्वा्धिक ३७ रनकोे योगदान दिए । उनले २९ बलमा ७ चौका प्रहार गरेका थिए । त्यस्तै अर्का ओपनर रविन जोशीले ३५ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेकोे प्रदेश ५ ले ४२ ओभरमा अल आउट हुँदै १ सय २२ रन मात्रै बनाएको थियो । टोलीका लागि सुवेन्दु पाण्डेले ३९ बलको सामना गर्दै ३ चौका सहित सर्वा्धिक २० रनको योगदान दिए । सुरज दराई १८, सन्दीप सुनार १४ र सौरभ खनालले १३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश ३ का लागि कप्तान पारस खड्काले १० ओभरमा ३ मेडन सहित २४ रन खर्चेर ४ विकेट लिए । सुर्य तामाङले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट प्राप्त गरेका थिए ।