ओमानमा दुई नेपाली महिलाको हत्या


काठमाडाैं । ओमानमा दुई नेपाली युवतीको शंकास्पद तरिकाले मृत्युु भएको छ । राजधानी मस्कटबाट करिब १०४८ किलोमिटर टाढा यहाँको पर्यटकीय शहर सल्लाहामा उक्त दुःखद घटना भएको नेपाली राजदूतावास मस्कटले जनाएको हो ।

सल्लाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीया अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको र बर्दियाकी २१ वर्षीया सुनिता सार्कीको पनि रहस्यमय मृत्यु भएको पाइएको छ । दुईवटै घटनाको अनुसन्धान कार्य भइरहेको दूतावासले जनाएको छ ।

बताइएअनुसार मृतक दुवैको शवलाई अल सुल्तान कावुस अस्पतालमा राखिएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले घटनाको अवस्था बुझ्न श्रमसहचारीलाई सल्लाह पठाउन लागिएको जानकारी दिइन् ।

प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई पक्राउ गरेको छ । २२ महिनाअघि ओमान पुगेकी अप्सरा काम गरेको स्थान छोडेर बंगलीसँग बस्दै आएकी थिइन्। अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो। उनका एक साथीले घटनाबारे भनिन्, ‘हामी दिउँसो नेपाली रेष्टुरेन्टमा मःमः खाएर छुट्टिएका थियौँ, शुक्रबार राति (जेठ ३) मारिएको खबर सुन्यौँ ।’

सुनिता सार्कीलाई भने प्रहरीले आत्महत्या गरेको अवस्थामा फेला पारेको थियो। दुवै खुट्टाको घुँडाले जमिनमा टेकेको र झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले गहिरो रुपमा छानबिन थालेको दूतावासले जनाएको छ। घटना रहस्यमय भएकोले प्रहरीले निकै गम्भिरतापूर्वक छानबिन गरिरहेको राजदूत ढकालले बताइन् ।

सार्की पनि बंगालीसँग बस्दै आएकी थिइन् । कुवेतमा कार्यरत सुनिताका दिदीले दूतावासलाई जानकारी दिएअनुसार सुनिता मस्कटबाट भागेर सल्लाह पुगेकी हुन्। उनी भिजिट भिसामा ओमन पुगेकी थिइन। उनीसँगै बस्दै आएको बंगाली भने घटना हुनु एकसाता अगाडि नै बंगलादेश गइसकेको खुलेको छ।

प्रहरीले सुनिता झुन्डिएको कोठामा एक बंगाली महिलाको परिचयपत्र मात्रै फेला परेको थियो। त्यही आधारमा सुनिता बंगाली भएको अनुमान गरिँदै आएकोमा दूतावासले उनी नेपाली नै भएको भन्दै राहदानीको प्रतिलिपि प्रहरीलाई उपलब्ध गराएको छ ।