पाँचै दिनमा सगरमाथाको चुचुरोमा


चिरञ्जीवी मास्के, दोलखा
यो बर्ष सगरमाथा आरोहणमा थप नयाँ रेकर्ड बनेका छन् । सगरमाथाको सर्वाधिक आरोहण गर्ने कामिरिता शेर्पाले आफ्नै रेर्कड तोडेर २४ औ पटक सफल आरोहण गरिरहदा दोलखाका लिलाबहादुर वस्नेतले काठमाडौँबाट हिडेको पाँचौ दिनमै एक्लै सगरमाथाको सफल आरोहण गरेर नयाँ रेकर्ड बनाएका छन् ।

सामान्यतया छिट्टोमा काठमाडौँबाट हिडेको ३०÷३५ दिनमा सगरमाथाको आरोहण गर्ने रेकर्ड रहेकोमा दोलखाका लिलाबहादुर वस्नेतले काठमाडौँबाट हिडेको पाँचौ दिनमै ८,८४८ मीटर उँचाईको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड बनाएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने आरोहिहरु सामान्यतया ३० देखि ६० दिन भित्र आरोहण सकेर काठमाडौँ फर्कने गरी अनुमति लिएर जाने गर्छन् लिलाबहादुरले भने– मैले काठमाडौँबाट हिडेको पाँचौ दिनमै सगरमाथाको सफल आरोहण गरे । लिलाबहादुर गत बैशाख ४ गते सगरमाथा आरोहणको लागि हिडेका थिए । उनी बैशाख ८ गते विहान ६ बजे सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर बैशाख १० गते काठमाडौँ फर्किएका छन् । आरोहणको लागि १० दिनको अनुमति लिएर हिडेका लिलाबहादुर सातौ दिनमै सफल आरोहण गरेर काठमाडौँ फर्किएका हुन् ।

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगर का ३७ बर्षिय लिलाबहादुरले यस अघि चार पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सभेन समिट टेक्स मार्फत यो पटक आरोहणको लागि उनी बैशाख ४ गते हवाईजहाजबाट लुक्ला पुगेका थिए भने त्यहाबाट हिडेर बैशाख ८ गते एक्लै सगरमाथाको टुप्पा ८,८४८ मीटरमा पुगेका हुन् । काठमाडौँबाट हिडेको छोटो समयमा सगरमाथाको सफल आरोहण गरेका लिलाबहादुर अहिले गिनिज बुक अफ वोल्ड रेकर्डमा नाम लेखाउन प्रकृयामा छन् । लिलाबहादुरलाई गिनिज बुक अफ वोल्ड रेकर्डमा नाम लेखाउने प्रकृयामा उनको जन्मथलो दोलखाको विगु गाँउपालिकाले पनि सहयोग गरिरहेको गाँउपालिकाका उपप्रमुख सञ्जीव ओलीले बताए ।

लिलाबहादुरलाई आरोहणको लागि विगु गाँउपालिकाले ५ लाख रुपैया आर्थिक सहयोग समेत गरेको गाँउपालिका उपप्रमुख ओलीले बताए । आरोहणमा झण्डै १६ लाख रुपैया खर्च भएको लिलाबहादुरले बताएका छन् । उनलाई विगु गाँउपालिका बाहेक काठमाडौँको प्यारागन विद्यालयले दुई लाख ५० हजार, साथी किस्टोबर बगले दुई लाख ५० हजार, अपर लप्ची हाईड्रो पावरले ५० हजार सहयोग गरेको थियो ।