कवितामा गुन्जिए सिग्देल


काठमाडाैं, (नेस)
मुनाल पुस्तकालय साहित्यिक कार्यक्रम सञ्चालक समितिको आयोजनामा चन्द्रागिरि साहित्य सरोवरले एकल कविता वाचन कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

चन्द्रागिरि–१५ तीनथानामा आयोजित कार्यक्रममा नवौं शृंखलाअन्तर्गत गोपीकृष्ण कार्कीको सभापतित्वमा एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा कवि तथा प्राध्यापक नरनाथ लुइँटेल, कवि तथा साहित्यकार भुवनहरि सिग्देललगायत ३० जना कवि तथा साहित्यकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा कवि भुवनहरि सिग्देलले कवितामार्फत कविले देशको राजनीतिक अवस्थालाई चित्रण गर्दै नेताले दिएको आश्वासनमा जनताले विश्वास गरेर काम गरेको भाव प्रस्तुत गर्दै अहिलेको देशको अवस्थाका बारेमा कवितात्मक ढंगबाट चित्रण गर्नुभएको थियो । उहाँले विदेशी भूमिमा पसिना बगाएका नेपालीका श्रीमतीको प्रेमभावलाई प्रस्तुत गर्नुभएको थियो ।

कविता वाचनकै क्रममा उहाँले देश फिर्ता गर, मेरो परिचय, बोकाको कथा, म शहरीया भएँलगायत शीर्षकका १० भन्दा बढी कविता वाचन गर्नुभयो। यसैक्रममा उहाँले म शहरीया भएँ कवितामार्फत अहिले सबै मान्छे विजुलीबाट चल्ने भइसके अर्थात् विजुलीको उपयोगबिना बाँच्न नसक्ने भए, गाउँका मूल्य मान्यता बिर्सिसके, आधुनिकतामा रमाउन थालेको कुरालाई प्रस्तुत गर्नुभयो ।

कविले वाचन गरेका कवितामा देशको वर्तमान स्थिति, देशको नेतृत्व तहले गरेका काम, विदेशमा पसिना बगाउनेहरुका घरका कुरा, देशको सीमाना मिचिएका कुराको भाव प्रस्तुत भएका थिए ।