संघीय नेपालमा प्रादेशिक मनसुनः ‘मनसुनी क्यालेन्डर’मा उतारचढाव

14
Shares

टीका बन्धन, काठमाडौं
आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू–भागमा भने औसत रहने भएको हो ।

प्रदेश १, २ र ३ का अधिकांश भू–भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ । सार्क मुलुक र म्यानमारसमेत आबद्ध दक्षिण एसियाली हावापानी दृष्टिकोण मञ्च (सास्कोप) ले नेपालसहित दक्षिण एसियाको मनसुन भविष्यवाणी गर्दै यस्तो बताएको हो ।

नेपाल, बंगलादेश र भुटानको मनसुन मिश्रित प्रकृतिको रहने सास्कोप विज्ञको ठहर छ । तर श्रीलंका र माल्दिभ्सको पूरै, भारतको दक्षिण र उत्तरतर्फ, पाकिस्तानको उत्तरी, उत्तर अफगानिस्तान र म्यानमारको दक्षिणी भू–भागमा औसत वर्षा नाघ्ने विज्ञहरुले बताएका छन् । हालै काठमाडौंैमा भएको सास्कोपको १४औं जमघटले नजिकिँदो मनसुनबारे यस्तो प्रक्षेपण गरेको हो ।

सास्कोप विश्व मौसम संगठनले मान्यता प्रदान गरेको मौसमविद्हरुको साझा फोरम हो । मनसुन शुरु हुनुभन्दा एक महिनाअघि हुँदै आएको सास्कोप जमघटमा विश्व मौसम संगठन (डब्ल्यूएमओ) र अन्य युरोपेली मुलुकका विज्ञसमेत सहभागी रहने गर्छन् । साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको ४ महिनालाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ ।
करिब ४ महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका दरले वर्षा हुने विभागकी सिनियर डिभिजनल मेट्रोलोजिस्ट डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

‘नेपालको यसपटकको मनसुन मिश्रित हुनेछ, पूर्व र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भेगमा औसतको हाराहारीमा रहने विज्ञहरुको साझा धारणा आएको छ’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

हिन्द र प्रशान्त महासागरसहित दक्षिण एसियाको समग्र मौसमी अवस्था विश्लेषण गरेर विज्ञले मनसुनी दृष्टिकोण बनाउने गरेका छन् । प्रशान्त महासागरको पूर्वी भेगको पानी औसत भन्दा बढी तात्ने प्रक्रिया (एलनिनो) कमजोर बन्दा मनसुन औसत हुने विज्ञहरुको बुझाइ छ ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो । डब्ल्यूएमओले नेपालका लागि ‘मनसुन क्यालेन्डर’ जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई तय गरेको छ ।

मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्रा १ हजार ४ सय ९६ दशमलव ७ मिलिमिटर र काठमाडौंको वार्षिक औसत वर्षा १ हजार ४ सय ५४ दशमलव ८ मिलिमिटर हो । मनसुनमा नेपालमा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा हुने गर्छ । सो भेगमा ४ हजार ६ सय ८६ दशमलव ३० मिलिमिटर वर्षा हुने गरेको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ ।

एक दशकको मनसुनी उतारचढाव
वर्ष     शुरु      अन्त्य
२०१० जुन १७ अक्टोवर १
२०११ जुन १५ अक्टोवर ७
२०१२ जुन १६ सेप्टेम्बर २८
२०१३ जुन १४ अक्टोबर १९
२०१४ जुन २० अक्टोवर ७
२०१५ जुन १३ अक्टोवर ३
२०१६ जुन १५ अक्टोवर १२
२०१७ जुन १२ अक्टोवर १६
२०१८ जुन ८ अक्टोवर ५

यस्तै मुलुकमै सबैभन्दा कम मुस्ताङको जोमसोममा १ सय ४५ दशमलव ५० मिलिमिटर वर्षा हुने गरेको विभागको अभिलेख छ ।

गत वर्ष मुलुकका अधिकांश भेगमा औसतका हाराहारीमा वर्षा भएको बताइएको छ । मौसमविद्हरु सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई सामान्य र सोभन्दा कम अथवा बढी झरी भएमा क्रमशः न्यून र अधिक वर्षाका रुपमा बुझ्ने गर्छन् । स्थान विशेषले औसत वर्षाको मात्रालाई फरक ढंगमा बुझ्नुपर्ने बताउँदै मौसमविद् सुवास रिमालले प्रस्ट्याउनुभयो– ‘काठमाडौं र पोखराको मध्यम वर्षा मनाङ मुस्ताङका लागि अधिक हुन सक्छ, छोटो अवधिमा कहिँकतै मुसलधारे वर्षा पनि हुन सक्छ ।’

मनसुन बंगालको खाडी दक्षिण भारत हुँदै क्रमशः म्यानमार, भारतकै कोलकाता, सिक्किम, बंगलादेश हुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ । तर पछिल्ला वर्षमा नेपालसहित दक्षिण एसियाली मुलुकमा मनसुन अवधि धकेलिदै गएको छ । जुन १० आसपासमा भित्रिनुपर्ने मनसुन ढिलो गरी भित्रिने र ढिलैगरी अन्त्य हुन थालेको छ । एक दशकयताको मनसुनी अवस्था नियाल्दा नेपालको मनसुनी क्यालेन्डर प्रत्यक्ष प्रभावित बनेको छ । मौसमी क्यालेन्डर हरेक १० वर्षमा हेरफेर हुनुपर्ने भए पनि हुन नसकेको बताउँदै मेट्रोलोजिष्ट कँडेलले भन्नुभयो– ‘नेपालको मनसुनी चक्रले क्यालेन्डर रिभ्यु गर्न ढिलो भइसकेको पुष्टि गरेको छ ।’