उपराष्ट्रपति पुन–चिनियाँ प्रान्तपालवीच भेट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चीनको गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियानले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

दुवै मुलुकको वर्षौ पुरानो सम्बन्ध स्मरण गर्नु भएका उहाँहरुले आगामी दिनमा सम्बन्ध अझ बलियो बन्ने विश्वास गर्नुभयो ।
उपराष्ट्रपति पुनले नेपाल विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताउँदै कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत्, पर्यटन, खनिज पदार्थको उत्खनन् र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र अन्य परियोजनाबाट नेपालले अधिकतम् लाभ लिन चाहेको उहाँको भनाई थियो ।

प्रतिउत्तरमा प्रान्तपाल ताङले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य रहने प्रतिवद्धता जनाउनु भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकाससँगै खानी उत्खनन्मा अनुभव आदन प्रदानसँगै सहकार्य गर्ने चिनियाँ चाहना रहेको उहाँले बताउनु भएको थियो ।